सबैको मन जितेर रामेछापबाट बिदाई भए डा.यादव

सबैको मन जितेर रामेछापबाट बिदाई भए डा.यादव

रामेछाप अस्पताल रामेछापमा कार्यरत MD GP&EM डाक्टर मनोज यादव सबैको मन जितेर बिदाई हुनुभएको छ ।

साँढे २ वर्ष रामेछाप अस्पतालमा बिरामीको सेवामा रातदिन नभनी खटिएर बिरामीको मनमा बस्न सफल हुनुभयो डा.यादव ।

रामेछाप अस्पतालमा पहिलो पटक प्रसूति शल्यक्रिया सुरु गर्नुभएका डा. यादवले १ सय ५० जना महिलाहरुको सफल रुपमा शल्यक्रिया मार्फत सुत्केरी गराउनुभएको हो ।

अस्पतालमा ५ सय बढी महिलाहरुको सामान्य रूपमा सुत्केरी गराएको सम्झदै डा यादवले भन्नुभयो,´मेरो पहिलो घर जनकपुर भए पनि दोश्रो घर रामेछाप हो । म जहाँ गए पनि रामेछापलाई कहिले पनि बिर्सने छैन ।`

रामेछाप अस्पतालमा आउने बिरामीको विश्वास र भरोसा बन्नुभएको डा. यादवलाई सोध्दै र खोज्दै धेरै बिरामीहरु उपचार र परामर्शको लागि अस्पताल आउने गर्थे ।´कतिपय बिरामीहरु आफू निको भएर घर गएपछि मलाई धेरै पटक भेट्न आउनु हुन्थ्यो । उहाँहरु कहिले पोलेको मकै,कहिले कुखुराको भाले र कहिले काँक्रा लिएर आउनु हुन्थ्यो । बुढाबुढी बा आमाले त झन आफ्नै छोरा जस्तै मान्नुहुन्थ्यो । `,उहाँले भन्नुभयो ।

रामेछाप बसाईको क्रममा रामेछाप नगरपालिका,यहाँका जनप्रतिनिधि,स्थानीय नागरिक सबैको राम्रो साथ पाएको डा. यादवले बताउनुभयो । अब जनकपुर वा काठमाडौंको कुनै एउटा अस्पतालमा काम गर्ने योजना रहेको भन्दै उहाँले रामेछापबासीले चाहेको खण्डमा जुनसुकै बेला पनि रामेछाप आएर सेवा गर्न तयार रहेको बताउनुभयो ।

रामेछाप नगरपालिकाले आइतबार(आज) एक कार्यक्रमको आयोजना गरेर डा. यादवलाई मायाको चिनो प्रदान गर्दै फेरि भेटौँला भन्दै बिदाई गरेको छ । अस्पतालले पनि डा. यादवको बिदाईको कार्यक्रम राखेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार