मन्थली नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि बृहत अन्तरक्रिया कार्यक्रम गर्ने

मन्थली नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि बृहत अन्तरक्रिया कार्यक्रम गर्ने

रामेछापको मन्थली नगरपालिकाले समग्र नगर भित्रका सम्भावित गन्तव्यहरुलाई देशकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सरोकारवालासँग छलफल सुरु गरेको छ । यसै क्रममा नगरपालिकाले नगरको पर्यटन प्रवद्र्धनका लागि वृहत् योजना नै बनाएर अघि बढ्न सरोकारवालासहित काठमाडौँमा बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको छ ।

असार २० गते पर्यटन बोर्डमा हुने कार्यक्रममा केन्द्र सरकार, प्रदेश सरकारसहित निजी क्षेत्रका व्यवसायी र सरोकारवाल समेतको उपस्थितिमा समग्र नगरको पर्यटन प्रवद्र्धनबारे छलफल हुने र उक्त छलफलका आधारमा समग्र नगरको पर्यटन गुरुयोजना बनाउने गरि नगरपालिका अघि बढ्ने नगरप्रमुख लब श्रेष्ठले बताउनुभयो ।

अहिले मन्थली नगरपालिकाको केन्द्रमै पर्ने मन्थली विमानस्थलबाट पर्यटकीय सिजनमा सगरमाथा क्षेत्रको हवाइ उडान हुँदै आएको छ । सिजनमा दैनिक दर्जनौ उडानमार्फत ठूलो संख्यामा पर्यटकहरु मन्थली विमानस्थल हुँदै लुक्ला पुग्दै आएका छन् । तर, मन्थलीमा स्तरीय होटल तथा अन्य पूर्वाधारको अभाव देखाउँदै कम्पनीहरुले पर्यटकलाई मन्थलीमा रोक्ने गरेका छैनन् । यसै क्रममा मन्थलीमा के कस्ता सुविधाहरु थप गर्दा पर्यटकहरुलाई मन्थली र आसपासका क्षेत्रमा केही समय राख्न सकिन्छ भन्ने विषयमा पर्यटन व्यवसायीहरु समेतको सहभागीतामा बृहत छलफल आयोजना गर्न लागेको हो ।

नगरपालिकाले पर्यटन सम्वद्ध सबै निकाय र सरोकारवालालाई एकै ठाउँमा राखेर आयोजना गर्न लागेको यो नै पहिलो कार्यक्रम भएको नगर प्रमुख श्रेष्ठको भनाइ छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय, बागमती प्रदेशको पर्यटन मन्त्रालय, बागमती प्रदेशसभाको उद्योग तथा पर्यटन समिति, नागरिक उड्डययन प्राधिकरण, पर्यटन विभाग, पर्यटन बोर्डसहित निजी क्षेत्रका पर्यटन सम्वद्ध संगठनहरुको समेत सहभागीता हुनेछ । यो कार्यक्रम पश्चात मन्थलीमा आन्तरीक तथा बाह्य पर्यटक बढ्ने नगरपालिकाले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार