रामेछापका ५५ सय बढी बालबालिकालाई पोलियोविरुद्धको आई.पी.भी. खोप लगाईँदै

रामेछापका ५५ सय बढी बालबालिकालाई पोलियोविरुद्धको आई.पी.भी. खोप लगाईँदै

रामेछापका ५ हजार ५ सयभन्दा बढी बालबालिकालाई पोलियो भाईरस विरुद्धको आईपीभी खोप लगाइने भएको छ । यहि जेठ १३ देखि २६ गतेसम्म देशव्यापी रुपमा आईपीभी खोप अभियान सञ्चालन हुँदैछ ।

जिल्लामा रहेका दुई नगरपालिका र ६ वटा गाउँपालिकाका पाँच हजार ५ सय १५ जना बालबालिकालाई पोलियो विरुद्धको आईपिभी खोप लगाइने जनस्वास्थ्य कार्यालय रामेछापका खोप कार्यक्रमका फोकल पर्सन दीपेन्द्र श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार जिल्लाको मन्थली नगरपालिकामा एक हजार ६२०, रामेछाप नगरपालिकामा ६९१, उमाकुण्ड गाउँपालिकामा ५६६ र गोकुलगंगा गाउँपालिकामा ६५५ जना बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइँदै छ । त्यसै गरी लिखुतामाकोशी गाउँपालिकामा ४७७, खाँडादेवी गाउँपालिकामा ५११, दोरम्बा शैलुङ गाउँपालिकामा ५०४ र सुनापति गाउँपालिकामा ४९१ जना बालबालिकालाई खोप लगाइनेछ ।

जिल्लाको आठ वटै पालिकाहरूमा नियमित खोप सञ्चालन कार्यक्रमलाई प्रभाव नपर्ने गरी विभिन्न तीन चरणमा पोलियो विरुद्धको आईपिभी खोप अभियान सञ्चालन गरिने जिल्ला खोप कार्यक्रमका फोकल पर्सन दीपेन्द्र श्रेष्ठले बताउनुभयो ।

खोप सञ्चालनका लागि तय भएका २०४ वटा खोप केन्द्रमा २०४ जना स्वास्थ्यकर्मी र ३०० भन्दा बढी स्वास्थ्य स्वयंसेवक खटिने उहाँले बताउनुभयो । २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई मात्र आईपीभी खोप लगाइने छ । पोलियो रोग विरुद्धको प्रतिरोधात्मक क्षमता बढाउन आईपीभी खोप लगाउनुपर्छ । नेपालमा पछिल्लो पटक २०६७ भदौ १४ मा पोलियो रोग देखा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार