तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवको उद्धघाटन,चर्चित कलाकार,निर्माता,निर्देशक रामेछापमा

तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवको उद्धघाटन,चर्चित कलाकार,निर्माता,निर्देशक रामेछापमा

तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवको उद्धघाटन गरिएको छ । रामेछापको पुरानो सदरमुकाम रामेछाप बजार स्थित श्री गौरीशंकर माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी महोत्सव उद्धघाटन गरिएको हो । रामेछाप नरपालिकाका उपप्रमुख बाल कुमारी कार्की र पूर्व चलचित्र विकास बोर्डका अध्यक्ष एवं निर्देशक दयाराम दाहालले संयुक्त रुपमा महोत्सव उद्धघाटन गर्नुभयो ।

महोत्सव उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले रामेछाप नगरपालिकामा पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विभिन्न फिल्महरुको सुटिङ्ग गर्दा रामेछाप नगरपालिकाका पर्यटकिय तथा ऐतिहासिक ठाउँहरुमा आएर सुटिङ्ग गर्न निर्देशक तथा निर्माताहरुलाई आग्रह गर्नुभयो । उहाँले जिल्लामा एउटा पनि फिल्म हल नरहेको भन्दै फिल्म हल संचालन गर्ने भए नगरपालिकाले सकेको सहयोग गर्ने पनि बताउनुभयो ।

कार्यक्रममा पूर्व चलचित्र विकास बोर्डका अध्यक्ष एवं निर्देशक दयाराम दाहालले काठमाण्डौँबाट नजिकै रहेको रामेछाप जिल्लामा फिल्मको सुटिङ्ग गर्ने खालका धेरै ठाउँहरु आफुले यात्राको क्रममा देखेको बताउनुभयो । उहाँले ग्रामीण परिवेशमा बन्ने फिल्महरु सुटिङ्गका लागी रामेछाप उपयुक्त ठाउँ रहेको बताउनुभयो । अब बन्ने विभिन्न फिल्म तथा सर्ट फिल्महरुका निर्मातालाई सुटिङ्गका लागी रामेछाप जिल्लालाई नै आफुहरुले पहले गर्ने उहाँको भनाई छ ।

कार्यक्रममा अभिनेता मुकुल भूषाल,महोत्सवका कार्यक्रम संयोजक एवं फिल्म निर्देशक कमल एक्चै मगर,रामेछाप नगरपालिका ८ का वडाअध्यक्ष सन्तोष कुमार तामाङ लगायतले मन्तव्य राख्नुभएको थियो । सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न चलचित्रका निर्देशक,निर्माता तथा कलाकारहरुको उपस्तिथी रहेको थियो ।

यहि वैशाख ६ गतेदेखी सुरु भएको महोत्सव ८ गतेसम्म चल्ने छ । महोत्सवमा चर्चित चलचित्र दिमाग खराब,नाङ्गो गाउँ,बुलाकी,बिच्छेद,सतीदेवी र डेसान निशुल्क हेर्न पाईने छ । महोत्सवमा चर्चित चलचित्रका साथै सर्ट फिल्म,डकुमेन्ट्री र विभिन्न भाषभाषीको चलचित्रहरु पनि प्रदर्शन भइरहेको छ ।

साथै महोत्सवमा ग्रामीण कथा र नेपाली चलचित्र,पर्यटन र चलचित्र, चलचित्र र स्थानिय सरकार विषय सिनेमा संवाद कार्यक्रम पनि भइरहेको आयोजकले जानकारी दिएको छ । रामेछाप नगरपालिका र चलचित्र विकास बोर्डको सहकार्यमा भएको महोत्सवमा धेरै कलाकारहरु पनि सहभागी भएका छन । महोत्सवको पहिलो संस्करण गोरखाको लाप्राकमा र दोस्रो संस्करण काभ्रेको भकुन्डेबेसीमा सम्पन्न भएको थियो । तेस्रो संस्करण भने रामेछाप बजारमा भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार