रामेछाप नगरपालिकाका १ सय ५० बढी छाडा तथा घरपालुवा कुकुरको बन्ध्याकरण

रामेछाप नगरपालिकाका १ सय ५० बढी छाडा तथा घरपालुवा कुकुरको बन्ध्याकरण

रामेछापको रामेछाप नगरपालिकाले १ सय ५० बढी छाडा तथा घरपालुवा कुकुरको बन्ध्याकरण गरेको छ । छाडा कुकुरको संख्या बढेपछि नगरपालिकाले बन्ध्याकरण गर्न शिविर नै सञ्चालन गरेको हो ।

नगरपालिकाले नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर बनेपा काभ्रेसँगको प्राविधिक सहयोगमा ५ दिने शिविर सञ्चालन गरेको थियो । ५ दिनको अबधिमा १ सय ५१ वटा छाडा तथा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको नगरपालिकाका पशुपन्छी विकास शाखा प्रमुख काजी शेर्पाले बताउनुभयो ।

शिविरमा घर पालुवा तथा नगरपालिकाको बजार क्षेत्रहरुमा छाडा रुपमा रहेका कुकुरलाई नियन्त्रणमा लिएर बन्ध्याकरण गरिएको हो ।
सामुदायिक कुकुरको संख्यामा कमी ल्याउन र रेबिजको प्रकोप न्यूनीकरण गर्न सामुदायिक कुकुरको बन्ध्याकरणका लागि शिविर सञ्चालन गरिएको हो । शिविरमा कुकुरलाई लुत्तो र रेविज रोग विरुद्धको खोप पनि लगाइएको थियो ।

केही समय अघि रामेछाप बजारमा छाडा कुकुरले आतंक मच्चाएको थियो ।कुकुरले बाटो हिँडिरहेका मानिसहरुलाई टोक्ने,झम्टने गरेको थियो । छाडा कुकुरको समुहले खसी बाख्रा र बंगुरलाई टोकेर समेत मारेको थियो । नागरीकहरुले छाडा कुकुर नियन्त्रण गर्न नगरपालिकालाई ध्यानाकर्षण पत्र समेत बुझाएका थिए । अब भने बन्ध्याकरण पश्चात छाडा कुकुर नियन्त्रण हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार