रामेछाप नगरपालिकामा छाडा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण शिविर सञ्चालन

रामेछाप नगरपालिकामा छाडा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण शिविर सञ्चालन

रामेछापको रामेछाप नगरपालिकाले नगरभित्र रहेका छाडा कुकुरलाई नियन्त्रण गर्न बन्ध्याकरण गर्न सुरु गरेको छ । छाडा कुकुरको संख्या बढेपछि नगरपालिकाले बन्ध्याकरण गर्न शिविर नै सञ्चालन गरेको हो । नगरपालिकाले नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर बनेपा काभ्रेसँगको प्राविधिक सहयोगमा बिहिबार(आज)देखि ५ दिने शिविर सञ्चालन गरेको नगरपालिकाका पशुपन्छी विकास शाखा प्रमुख काजी शेर्पाले बताउनुभयो ।

यो शिविर २० गतेसम्म संचालन हुनेछ । शिविरमा घर पालुवा तथा नगरपालिकाको बजार क्षेत्रहरुमा छाडा रुपमा रहेका कुकुरलाई नियन्त्रणमा लिएर बन्ध्याकरण गरिने छ । सामुदायिक कुकुरको संख्यामा कमी ल्याउन र रेबिजको प्रकोप न्यूनीकरण गर्न सामुदायिक कुकुरको बन्ध्याकरणका लागि शिविर सञ्चालन गरिएको हो । शिविरमा कुकुरलाई लुत्तो र रेविज रोग विरुद्धको खोप पनि लगाइने पशुपन्छी विकास शाखा प्रमुख शेर्पाले बताउनुभयो ।

बजार क्षेत्र आसपासबाट कुकुरलाई नियन्त्रणमा लिई शिविरस्थलमा ल्याई बन्ध्याकरण र उपचार गरेपश्चात् नियन्त्रणमा लिएकै स्थानमा लगेर छाड्ने उहाँले बताउनुभयो । घर पालुवा कुकुर बन्ध्याकरण गर्न शिविरमा ल्याउन उहाँले नगरवासिलाई आग्रह गर्नुभयो । यो पटक एक सय कुकुरलाई बन्ध्याकरण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । केही समय अघि रामेछाप बजारमा छाडा कुकुरले आतंक मच्चाएको थियो ।

कुकुरले बाटो हिँडिरहेका मानिसहरुलाई टोक्ने,झम्टने गरेको थियो । छाडा कुकुरको समुहले खसी बाख्रा र बंगुरलाई टोकेर समेत मारेको थियो । नागरीकहरुले छाडा कुकुर नियन्त्रण गर्न नगरपालिकालाई ध्यानाकर्षण पत्र समेत बुझाएका थिए । अब भने बन्ध्याकरण शिविर पश्चात छाडा कुकुर नियन्त्रण हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार