गङ्गालाल र पुष्पलालको शालिक कन्तविजोक अवस्थामा

गङ्गालाल र पुष्पलालको शालिक कन्तविजोक अवस्थामा

राणाशासन अन्त्यका लागि प्राण त्यागेका शहीद गङ्गालाल श्रेष्ठ तथा नेपालमा कम्युनिष्ट पार्टी स्थापना र विकासमा अमूल्य योगदान दिने पुष्पलाल श्रेष्ठको जन्मघर संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । रामेछाप डाँडास्थित भँगेरीमा रहेको श्रेष्ठ दाजुभाइको जन्मघर परिसरमा बनाइएको शालिक जीर्ण बनेको छ भने घर रहेको क्षेत्र नै झाडीमा परिणत भएको छ ।

राणा शासनकालमा काठमाडौँका सुब्बा भक्तलाल श्रेष्ठले जागिर खाने सिलसिलामा रामेछाप अड्डा आइपुग्दा रामेछाप डाँडास्थित भँगेरीमा आफ्नो बासस्थान बनाउनुभएको थियो । सोही स्थानमा उहाँको दुई छोरा गङ्गालाल र पुष्पलाल जन्मिनु भएको थियो । भँगेरीमा जन्मेका श्रेष्ठ दाजुभाइलाई भङ्गेरीबासीले उच्च आदरका साथ सम्झीने गरेका छन् ।

भँगेरीका बासिन्दाले नेपालका दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबाट आश्वासनबाहेक केही पाएका छैनन् । दाजुभाइको जन्मघर र घर परिसरमै रहेका शालिकको कन्तविजोक अवस्थाले नै राज्यको उपेक्षा स्पष्ट पार्ने भङ्गेरीकी सुमित्रा श्रेष्ठले बताउनुभयो । रामेछापलाई शहीद गङ्गालाल, कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल र साहित्यिक शहीद कृष्णलाल अधिकारीको नाममा तीन लालको जिल्ला पनि भनिन्छ ।

पुष्पलालले स्थापना गरेको पार्टी नै कयौँ पटक सरकारमा पुगे पनि यो क्षेत्रको विकासमा कुनै कदम नचालेको नेकपा मालेका नेता मोहन कार्कीले बताउनुभयो । गङ्गालाल र पुष्पलालको जन्मथलो भङ्गेरी घुम्न धेरै जना आउने गरे पनि हेर्नलायक कुराहरू खासै नभएको गुनासो गर्छन् । ढुङ्गामा गङ्गालाल र पुष्पलालको हातले कुँदिएको शालिक, पुरानो भत्किसकेको घर र घरवरपर सिस्नुको झाडी मात्रै देख्दा सरकारलाई नै गिज्याइरेको आभाष भएको भङ्गेरी घुम्न पुग्नुभएका श्रीराज महतले बताउनुभयो । भङ्गेरीमा बागमती प्रदेश सरकारले ४४ करोडको लागतमा पुष्पलाल स्मृति पार्क निर्माणको काम थाले पनि अहिलेसम्म एउटा भवन बाहेक कुनै संरचना बनेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार