रामेछाप साँघुटार बजारमा एकै रातमा ७ वटा घर चोरी

रामेछाप साँघुटार बजारमा एकै रातमा ७ वटा घर चोरी

रामेछापमा एकै रातमा ७ वटा घरमा चोरी भएको छ । गएराति जिल्लाको रामेछाप नगरपालिका वडा नं. ३ साँघुटार बजारका ७ वटा घरमा चोरी भएको हो । घटनाको प्रारम्भिक विवरण अनुसार चोरी भएका सात वटा घर मध्ये ४ वटा घरबाट नगद ७ लाख ४५ हजार ७ सय रुपैयाँ चोरी भएको पाइएको छ ।

वसन्त श्रेष्ठको घरबाट नगद ४ लाख ८० हजार रुपैयाँ र १ लाख २० हजार रुपैयाँ बराबरको रिचार्ज कार्ड, नवीन कर्मचार्यको घरबाट नगद १ लाख ५ हजार रुपैयाँ, यम बहादुर श्रेष्ठको घरबाट ४० हजार रुपैयाँ र सुन्तली वि.क.को घरबाट ७ सय रुपैयाँ चोरी भएको रामेछाप नगरपालिका वडा नं. ३ साँघुटारका वडा अध्यक्ष दल बहादुर प्रधानले जानकारी दिनुभयो ।

खड्ग बहादुर वि.क.को सुन पसल भएको घरमा पनि चोरी भएको बताउँदै वडा अध्यक्ष प्रधानले के कति मात्रमा चोरी भयो भन्ने कुराको विस्तृत विवरण आउन बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘खड्ग बहादुर वि.क.को सुन पसल भएको घरमा पनि चोरी भएको छ, अहिले त्यस घरमा कोही छैनन् सबै जना काठमाडौँमा बस्नु हँदो रहेछ, त्यस कारण के कति क्षति भएको छ भन्ने कुरा सम्बन्धित मान्छे नआई भन्न सकिन्न ।’

उहाँका अनुसार मदन भौकाजी र अरुण भौकाजीको घरमा चोरले ताल्चा मात्रै फोडेका छन् । घटना कसले घटायो ? भन्ने कुराको हालसम्म पत्ता नलागेको उहाँले बताउनुभयो । घटनलाई हेदाँ स्थानीय सुराकीको आधारमा चोरी भएको हुनसक्ने उहाँको भनाई छ ।
चोरीको यो घटना बाहिरिएसँगै स्थानीय पनि त्रसित बनेका छन् । रामेछाप नगरपालिका वडा नं. ३ साँघुटारका बल बहादुर वि.क.ले यो घटनाले आफूहरुलाई समेत असुरक्षित महशुस गराएको बताउनुभयो । प्रहरी कार्यालय नजिकै रहेको बजार त सुरक्षित नरहेपछि अब हामी गाउँमा बस्ने नागरिक कसरी सुरक्षित रहने ? भन्ने चिन्ताले सताउन थालेको उहाँले बताउनुभयो । ‘प्रहरी कार्यालय नजिकै रहेको बजार त यसरी चोरी हुन्छ भने अब हामी गाउँ घरमा बस्ने नागरिक कसरी सुरक्षित हुने भन्ने कुराले सताउन थालेको छ । प्रहरी, प्रशासनले हाम्रो सुरक्षाको व्यवस्था गरोस्,’ स्थानीय वि.क.ले भन्नुभयो ।’

यसैबीच, वडा अध्यक्ष प्रधानले पनि घटनाले थप सुरक्षा चुनौती बढाएको बताउनुभयो । अहिले नागरिकको शान्ति, सुरक्षाको ग्यारेण्टी हुन नसकेको बताउँदै उहाँले थप सुरक्षा व्यवस्था गर्न जिल्ला प्रहरी कार्यालय र प्रशासनसँग कुरा गरिने बताउनुभयो । ‘बजार बजार जस्तो ठाउँमा त यस्तो चोरी हुन्छ भने गाउँ घरमा त झन एकल भएर एक ठाउँमा मात्रै बसेको ठाउँमा त जे पनि हुने भयो, धम्की दिने, मार्ने भयो अप्रिय घटना पनि हुन सक्ने भयो । त्यहाँ त झन डाका चोरी हुनसक्ने भयो, सुरक्षा त छँदैछैन,’ अध्यक्ष प्रधानले भन्नुभयो ।

यता जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होम बहादुर पराजुलीले यस घटनाको अनुसन्धानलाई सुक्ष्म ढंगले अघि बढाइएको बताउनुभयो । प्रहरी जनशिक्त पनि न्यून मात्रमा रहेको उल्लेख गर्दै उहाँले थप जनशक्ति परिचालन गरिने बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘हाम्रो जनशक्ति नै कम हो, साँघुटारमा जम्मा ६ जना प्रहरी छ, एक जना विदामा हुन्छ प्रायजासो, पाँच जना रहन्छन्, थप २÷३ जना प्रहरी पठाउँछु ।’

यस घटनालाई आफूहरुले गम्भीर रुपमा लिएको बताउँदै उहाँले घटनामा संलग्न अपराधीलाई पत्ता लगाउन अनुसन्धानको पाटोलाई सुक्ष्म ढंगले अघि बढाइने बताउनुभयो । आपूmले बजार क्षेत्रमा सिसि क्यामेराको व्यवस्था गर्न स्थानीय तहका प्रमुखसँग पनि अनुरोध गरेको उहाँको भनाई छ । सुरक्षा संयमतलाई ख्याल गर्दै थप सावधानी अपनाउन स्थानीयलाई समेत उहाँले अनुरोध गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार