रामेछाप जिल्लामै गोकुलगंगाबाट सुरु भयो भूमिहीन र अव्यवस्थित बसोबासीका लागि जग्गाको निस्सा वितरण

रामेछाप जिल्लामै गोकुलगंगाबाट सुरु भयो भूमिहीन र अव्यवस्थित बसोबासीका लागि जग्गाको निस्सा वितरण

रामेछाप जिल्लामा पहिलो पटक गोकुलगंंगा गाउँपालिकाबाट भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गाको निस्सा वितरण सुरु भएको छ । गोकुलगंंगा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत होम बहादुर थापाका अनुसार गाउँपालिकाबाट राष्ट्रिय भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको जग्गा व्यवस्थापनका लागि निवेदन फारम दर्ताको निस्सा वितरण तथा जग्गा नापजाँच कार्य प्रारम्भ भएको हो ।

राष्ट्रिय भूमि आयोग जिल्ला कार्य समिति रामेछापको सहजीकरण र गोकुलगंगा गाउँपालिकाको आयोजनामा बुधबारदेखि जग्गाको निस्सा वितरण तथा नापी कार्य प्रारम्भ भएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाको वडा नम्बर ६ फर्पुबाट निस्सा वितरण तथा नापी कार्यक्रम प्रारम्भ भएको हो । राष्ट्रिय भूमि आयोगले भूमिहिन दलित र सुकुम्बासी तथा अव्यस्थित बसोबासीहरुलाई जग्गा उपलब्ध गराउनका लागि निवेदन दिन भनेको थियो ।

सोही अनुसार गोकुलगंगा गाउँपालिकाले पनि सुचना जारी गरी पालिकाभित्रका त्यस्ता नागरिकहरुलाई निवेदन दिन आव्ह्वान गरेको थियो । सो क्रममा पालिकामा भूमिहिन र सुकुम्बासीको ९२ वटा र अव्यवस्थित बसोबासीहरुको एक हजार एक सय वटा निवेदन परेको थियो ।

सो निवेदनमाथि जाँचबुझ र प्रविष्ट गर्ने क्रममा बुधबार फर्पुमा वडाअध्यक्ष चन्द्रबहादुर सुनुवारको अध्यक्षतामा बैठक बसी सोही वडाबाट जग्गाको निस्सा र नापी कार्य प्रारम्भ भएको गाउँपालिकाले जनाएको छ । तर, फर्पुमा भूमिहिन दलित र सुकुम्बासीहरुको निवेदन परेको छैन भने अव्यवस्थित बसोबासीहरुको ८७ वटा निवेदन परेको छ ।

गोकुलगंगा गाउँपालिकामा हालसम्म ७ सय अव्यवस्थित बसोबासीहरुको निवेदन प्रविष्ट भइसकेको छ । निवेदन दिई छनौटमा परेकाहरुलाई छिट्टै जग्गा व्यवस्थापन गराउनेगरी तयारी थालिएको पालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश)ले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार