रामेछापको स्थानीय सरकारले संघीय सरकारबाट तीन अर्ब भन्दा बढी रकम पाउने भएका छन् । जिल्लाका ८ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष संघबाट चालु र पूँजीगततर्फगरी तीन अर्ब २८ करोड ३१ लाख रकम प्राप्त गर्ने भएका हुन् । जसअनुसार चालुतर्फ दुई अर्ब ९९ करोड ११ लाख रकम विनियोजन भएको छ भने पूँजीगततर्फ २६ करोड ४ हजाररुपैैंया मात्रै रकम छुट्याइएको छ ।
सबैभन्दा बढी सर्शत अनुदानतर्फ दुई अर्ब ७ लाख ४६ लाख रकम विनियोजन हुँदा सबै भन्दा कम विशेष अनुदानतर्फ छ करोड ५५ लाख बजेट विनियोजन भएको छ । पालिकास्तरीय बजेट हेर्ने हो भने बढी बजेट विनियोजन हुनेमा मन्थली नगरपालिका रहेको छ । सबैभन्दा कम भने उमाकुण्ड गाउँपालिकाले पाउने भएको छ । मन्थली नगरपालिकाले चालुतर्फ ६० करोड ११ लाख, पूँजीगततर्फ दुई करोड ७६ लाख गरी जम्मा ६२ करोड ८७ लाख बजेट पाउनेछ ।
सबै भन्दा कम पाउने उमाकुन्ड गाँउपालिकाको लागि ३० करोड ९२ लाख बजेट विनियोजन भएको हो । जसमा पूँजीगततर्फ २ करोड ८५ लाख र चालुतर्फ २८ करोड ७ लाख रहेको छ । यसैगरी, दोस्रो बजेट रामेछाप नगरपालिकाको भागमा परेको छ । रामेछाप नगरपालिकाले चालुतर्फ ४१ करोड ५३ लाख र पूँजीगततर्फ चार करोड ८० लाख गरी कुल ४६ करोड ३३ लाख बजेट पाउनेछ ।
खाँडादेवी गाउँपालिकाले चालुतर्फ ३९ करोड ३१ लाख र पूँजीगत तीन करोड ८० लाख गरी ४३ करोड १२ लाख, लिखु तामाकोशि गाउँपालिकाले चालुतर्फ ३४ करोड ८६ लाख र पूँजीगततर्फ २ करोड ३० लाख गरी ३७ करोड १६ लाख, दोरम्वा शैलुङ गाउँपालिकाले चालुतर्फ ३२ करोड ६० लाख र पूँजीगततर्फ तीन करोड २२ लाख गरी ३५ करोड ८२ लाख, गोकुलगंगा गाउँपालिकाले चालुतर्फ ३१ करोड १४ लाख तथा पूँजीगततर्फ तीन करोड ७५ लाख गरी ३४ करोड ८९ लाख र सुनापती गाउँपालिकाले चालुतर्फ ३१ करोड ६५ लाख तथा पूँजीगततर्फ दुई करोड ५५ लाख गरी ३४ करोड २० लाख रकम पाउनेछन् ।
सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट सार्वजनिक गरेको थियो । सो क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रदेश र स्थानीय सरकारलाई प्रदान गर्ने बजेटको समेत जानकारी दिनुभएको थियो । संघले स्थानीय सरकारलाई सशर्त, समानीकरण, विशेष र समपुरक अनुदान गरी ४ शीर्षकमा बजेट दिने गरेको छ ।