रामेछाप नगरपालिकाले बजार व्यवस्थापन नगर्दा व्यवसायी पलायन

रामेछाप नगरपालिकाले बजार व्यवस्थापन नगर्दा व्यवसायी पलायन

रामेछाप नगरपालिकाले बजार व्यवस्थापन नगर्दा व्यवसायीहरु पलायन हुन थालेका छन् । बजार क्षेत्र विस्तारमा स्थानीय सरकारले ध्यान नदिएका कारण व्यवसायबाट पलायन हुनु पर्ने अबस्था आएको व्यापारीहरु बताउँछन् ।

बजार क्षेत्र साँघुरो हुँदा ग्राहकको उपस्थिति घटेको एक दशकदेखि व्यवसाय गर्दै आएका नविन मगर बताउनुहुन्छ । नगरपालिकाले बजार विकास र विस्तारको काम गर्न नसक्दा ग्राहक घटेको अर्का व्यवसायी सुजन घिमिरेको भनाइ छ ।

पछिल्लो समय गाउँ छोडेर सहर छिर्नेको सङ्ख्या बढिरहेको छ । जसका कारण गाउँमा आर्थिक गतिविधि पनि खुम्चिएको छ । त्यही भएर व्यापार व्यवसाय घटेको हुनसक्ने व्यवसायी दीपक काफ्लेको बुझाइ छ । सामान्य अवस्थामासमेत राम्रोसँग चल्ने पसलहरु केहि वर्ष यता चार्डपर्वमा पनि सुनसान बन्ने गरेका छन् ।

व्यवसायीहरु पलायन हुने अवस्था सिर्जना हुँदा पनि केही काम गर्न नसकिएको रामेछाप नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं व्यवसायी शम्भुकुमार श्रेष्ठले बताउनुभयो । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने रामेछाप साँघुटार सडक आयोजनाले सडक कालोपत्रेको काम नसकेसम्म बजारको अवस्था सुधार हुन नसक्ने बताउनुहुन्छ ।

बजार क्षेत्रमा सडक कालोपत्रे भैसकेपछि नगरपालिकाले बजार विस्तार र विकासको काम गर्ने उहाँको भनाइ छ । रामेछाप नगरपालिकामा ७ सय ५० जना व्यवसायिले आफनो व्यवसाय दर्ता गरेर संचालन गर्दै आएका छन् । तर नगरपालिकाले व्यवसाय प्रवद्र्धनमा केही काम नगरेको उनीहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार