सुनकोशी–३ जलविद्युत आयोजनामा नेपाल र बंगलादेशले संयुक्त लगानी गर्ने

सुनकोशी–३ जलविद्युत आयोजनामा नेपाल र बंगलादेशले संयुक्त लगानी गर्ने

काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाको सिमानामा बन्ने गरी पहिचान भएको ६८३ मेगावाटको सुनकोशी–३ जलविद्युत आयोजनामा नेपाल र बंगलादेशले संयुक्त लगानी गर्ने निर्णय भएको छ । नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा सुनकोशी–३ जलविद्युत आयोजनाको निर्माणका लागि ६ महिनाभित्र दूबै देशबीच हस्ताक्षर गर्ने निर्णय भएको हो ।

ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले जारी गरेको प्रेस विज्ञप्ति अनुसार सुनकोशी–३ जलविद्युत आयोजनाको निर्माण र विकास गर्नका लागि नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच ६ महिनाभित्र संयुक्त उपक्रममा हस्ताक्षर हुनेछ । सुनकोशी–३ आयोजनाको अनुमानित लागत १ अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर छ । यसबाट वाषिर्क २ अर्ब ३५ करोड ६२ लाख युनिट बिजुली उत्पादन हुने प्रक्षेपण छ ।

यसअघि २०७९ भदौमा बंगलादेशको विद्युत, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको टोलीले आयोजनाको प्रस्तावित निर्माणस्थल र जलाशय क्षेत्रको स्थलगत अवलोकन भ्रमण गरेको थियो । अवलोकन भ्रमणपछि रामेछापको खाँडादेवीस्थित लुभुघाटमा आयोजित कार्यक्रममा सचिव रहमानले सुनकोशी–३ जलविद्युत आयोजना अघि बढाउन बंगलादेश इच्छुक रहेको बताएका थिए ।

विपी राजमार्गको नेपालथोकबाट १ किलोमिटर दूरीमा रामेछापको खाँडादेवी र काभ्रेको तेमाल गाउँपालिकाको सिमानामा लुभुघाटमा १८० मिटर अग्लो बाँध निर्माण गरी नदीलाई थुनिने छ । आयोजनाको जलाशय ४५ किलोमिटर माथिसम्म फैलनेछ । सिन्धुपाल्चोकस्थित सुनकोसी नदीतर्फ बलेफी बजारभन्दा माथि र इन्द्रावती नदीतर्फ सिपाघाटसम्म जलाशय फैलिने छ ।

ईआईए प्रतिवेदनअनुसार, आयोजनाबाट सिन्धुली, काभ्रे, रामेछाप र सिन्धुपाल्चोकका १३ स्थानीय तहका ४५ वटा वडाहरु प्रभावित हुनेछन् । आयोजना निर्माण हुँदा ३ हजार २३७ हेक्टर जग्गा डुबानमा पर्नेछ । डुबान क्षेत्रमा पर्ने जमिनमध्ये ३ हजार ३ सय हेक्टर निजी जग्गा अधिग्रहण गर्नुपर्ने छ भने ६५५ हेक्टर वन क्षेत्र पर्छ । आयोजनाबाट ११ हजार ७ सय जनसंख्या विस्थापित हुने अनुमान छ । – bizpati बाट ….

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार