रामेछाप रामपुरको राजमा ब्रान्डिङ,लेभलिङ र प्याकेजिङ सहित बजारमा

रामेछाप रामपुरको राजमा ब्रान्डिङ,लेभलिङ र प्याकेजिङ सहित बजारमा

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ५ रामपुर गेडागुडीको पकेट क्षेत्र हो । रामपुरमा गहत,मस्याङ,मास र राजमा धेरै मात्रामा उत्पादन हुँदै आएको छ । यहाँ उत्पादन भएको राजमा अब ब्रान्डिङ,लेभलिङ र प्याकेजिङ सहित देश तथा विदेशका बजारहरुमा पुग्ने भएको छ ।

सगरमाथा कृषि तथा पशुपालन सहकारी संस्था रामपुरले बजारीकरणको काम थालेको छ । सियास र आर्या नामक संस्थासँग सहकार्य गरेर सहकारीले रामपुरमा उत्पादन भएको राजमालाई ब्रान्डिङ,लेभलिङ र प्याकेजिङ सहित बजार पठाउने तयारी गरिएको सहकारीका अध्यक्ष भिम बहादुर तामाङले जानकारी दिनुभयो ।

स्वास्थ्यका लागी निकै लाभदायिक मानिएको राजमा अब आफ्नै छुट्टै ब्राण्ड सहित बजारमा जाने सहकारीका अध्यक्ष तामाङले बताउनुभयो । रामपुरका महिलाहरुले उत्पादन गर्दै आएको गेडागुडी जातका तरकारी बालीहरुले अब राम्रो बजार पाउने वडाअध्यक्ष हरिशचन्द्र श्रेष्ठले बताउनुभयो । रामपुरदेखी रामेछापको बिहिबारे हाटमा किसानले गेडागुडी बोकेर बेच्न ल्याउने गरेका छन । किसानबाट बिचौलीयाहरुले सस्तोमा गेडागुडी खरिद गरेर महंगोमा बिक्रि गर्दै आएका छन । अब यो समस्या पनि अन्त्य हुने वडाअध्यक्ष श्रेष्ठले बताउनुभयो ।

रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले रामपुरको राजमा ब्रान्डिङ,लेभलिङ र प्याकेजिङ सहित बजारमा पुग्दा निकै खुशी लागेको बताउनुभयो । ९ वटा वडा रहेको नगरपालिकाको हरेक वडा विभिन्न चिज वस्तुको पकेट क्षेत्र रहेको भन्दै उहाँले सबै वडामा उत्पादन भएका चिज वस्तुको ब्रान्डिङ,लेभलिङ र प्याकेजिङ सहित बजारमा पठाउन सके नगरपालिका सम्वृद्ध हुने बताउनुभयो । नगरको उत्पादनलाई ब्रान्डिङ,लेभलिङ र प्याकेजिङ गरी बजार पठाउने कुरामा सहयोग चाहिएमा नगरपालिका तयार रहेको उहाँको भनाई छ ।

चार घरे ब्राण्ड मार्फत बजारमा पुग्ने राजमा १ केजी र ५ सय ग्रामको प्योकटमा प्याक भएर नेपालका विभिन्न बजारहरुमा पुग्ने छ । आफुहरुको उत्पादन देशका विभिन्न ठाउँमा पुग्ने भएपछि उचित मुल्य पाईने भन्दै यहाँका किसानहरु पनि खुशी भएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार