रामेछापको सदरमुकाम मन्थली नै बाढी र पहिरोको जोखिममा

रामेछापको सदरमुकाम मन्थली नै बाढी र पहिरोको जोखिममा

रामेछापको सदरमुकाम मन्थली बजार हुँदै पश्चिमतर्फ बग्ने रन्जोर खोलाले मन्थली नगरपालिकाका १, ३, ४ र ५ नम्बर वडालाई जोखिममा पारेको छ । तामाकोशी नदीमा आउने बाढीले पनि बजार क्षेत्रलाई कटान गरिरहेको छ । सदरमुकाम नै बाढी र पहिरोको जोखिममा रहँदा समेत न्यूनीकरणका लागि प्रयास नभएको मन्थलीवासीको गुनासो छ ।

हिउँदमा खासै डर नभएपनि प्रत्येक वर्षको वर्षायाममा रन्जोर खोलाले बनाएको घ्याप्चेको पहिरोले कति खेर घर छाडेर भाग्नुपर्ने हो भन्ने चिन्ता भइरहने स्थानियवासी सुकदेव कार्कीले बताउनुभयो । घ्याप्चेको पहिरो मिसिएर रन्जोर खोलामा आउने लेदो बाढीले रामेछापको सदरमुकाम मन्थली बजार नै उच्च जोखिममा पर्ने गरेको छ । २०११ सालदेखि नै घ्याप्चेको पहिरो मिसिएर रन्जोर खोलामा बाढी आउन थालेको थियो ।

यो समस्याले हरेक वर्ष यस क्षेत्रका बस्तीलाई जोखिममा पारिरहेको स्थानीयवासी सिता पौडेलले बताउनुभयो । प्रत्येक वर्ष आइरहने बाढीले एकातिर खोलाको सतह माथि आएको छ भने खोला छेउका खेत, बगरमा परिणत भएको छ । हरेक वर्ष पहिरो झरीरहँदा पहाड समेत खुकुलो बनिरहेको छ ।

यति हुँदा समेत स्थानिय सरकार र राजनीतीक दलले कुनै चासो नदेखाएको गुनासो स्थानीयवासी बाबुराम कार्कीको छ । मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठले वर्षौ पुरानो पहिरो रोकथाम गर्न स्थानीय तहले नसक्ने तर सङ्घ र प्रदेश सरकारले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार