बेलुकी ८ बजे सम्म मात्र देउसी भैलो खेल्न रामेछाप प्रशासनको आग्रह

बेलुकी ८ बजे सम्म मात्र देउसी भैलो खेल्न रामेछाप प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रामेछापले वेलुकी ८ बजे सम्म मात्र देउसी र भैलो खेल्न नागरीकहरुलाई आग्रह गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले बिहान ६ बजेदेखि राती ८ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाउने निर्णय गरेको हो ।

दिपावली र छठ पर्वको समयमा हुन सक्ने अवाञ्छित गतिविधिहरूलाई मध्यनजर गर्दै राति ८ बजेसम्म मात्रै देउसी भैलो खेल्न दिइने भनि जिल्ला सुरक्षा समितिले निर्णय गरेको हो । बैठकले गृह मन्त्रालयको मिति यहि कार्तिक २ गतेको पत्रानुसार दिपावली, नेपाल सम्बमत र छठ पर्वको समयमा हुन सक्ने अवाञ्छित गतिविधिहरूलाई रोक्नका लागि समय तोकिएको जनाएको छ ।

चाडपर्व लक्षित सुरक्षा कार्य योजना अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालबाट समन्वयात्मक रूपमा गस्ती गर्ने र जिल्लामा पटका, भुईचम्पा, आकास बाजी जस्ता प्रज्वलनशील तथा विस्फोटक बस्तुहरूको उत्पादन, ओसारपसार बिक्रिवितरण तथा प्रयोगमा रोक लगाउने निर्णय पनि गरेको जनाईएको छ ।

यसैगरी बैठकले जुवा तास खेल्ने खेलाउने लगायत कानुनले निषेध गरेका कुनै पनि प्रकारका कार्य गरे गराएमा नियन्त्रणमा लिई कारबाही गर्ने साथै बजार अनुगमन, अखाद्य बस्तुको उत्पादन, बिक्री वितरणमा नियन्त्रण, बिष्टफोर्टक पदार्थको आयात गरिने नाका र बिक्री वितरण गरिने स्थानहरूमा निगरानी बढाई आवश्यक गस्ति गर्ने र सुरक्षा व्यवस्था लाई कडाई गर्ने निर्णय समेत गरेको जिल्ला प्रशासन कार्यालयले रामेछापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार