रामेछापको साँघुटारमा निर्माण भएको ३३ केभी सबस्टेसन सञ्चालनमा

रामेछापको साँघुटारमा निर्माण भएको ३३ केभी सबस्टेसन सञ्चालनमा

रामेछापको पूर्वी सिमाना पर्ने साँघुटारमा निर्माण भएको ३३ केभी सबस्टेसन सञ्चालनमा आएको छ । आठ वर्षअघि निर्माण थालिएको सबस्टेसन आइतबारदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरण रामेछाप वितरण केन्द्रले जनाएको छ ।

मन्थलीदेखि साँघुटार पुर्‍याइएको ३३ केभी प्रसारण लाइनलाई उक्त सबस्टेसनमा पुर्‍याएर चार्ज गरिएको वितरण केन्द्रका प्रमुख कृष्णहरि दाहालले बताउनुभयो । साँघुटार सबस्टेसनमार्फत रामेछाप जिल्लाको पूर्वी उत्तर क्षेत्र दुरागाउँसम्मको विद्युतीकरण हुने व्यवस्था मिलाइएको छ । त्यसका अतिरिक्त ओखलढुंगाको पश्चिमी क्षेत्रमा पर्ने विभिन्न भागमा पनि उक्त सबस्टेसनकै फिडरमार्फत विद्युत् पठाइनेछ ।

यसअघि मन्थलीको सबस्टेसनबाट वितरण भएको विद्युत् साँघुटार सबस्टेसनको सञ्चालन पछि सुधार हुनेछ । साँघुटारको सबस्टेसनसम्म ३३ केभी सिधै पुग्ने भएकाले विद्युत्को गुणस्तरसमेत बढ्ने प्राधिकरणले जनाएको छ । बारम्बार विद्युत् जाने समस्या पनि अब घटेर जाने केन्द्रले जनाएको छ । एकातिर साँघुटारतर्फको विद्युत् गुणस्तरीय हुने र अर्कोतिर मन्थलीको विद्युत्समेत प्रभावकारी बनाउन सहयोग पुग्ने दाहालले बताउनुभयो ।

रामेछापको मन्थली सबस्टेसनबाट वितरण भएका विद्युत् सिधै व्यक्तिको घरमा पुग्ने भएकाले गुणस्तरदेखि बारम्बार गइरहने समस्याबाट गुज्रँदै आएको छ । साँघुटार जस्तै दोरम्बा, राकाथुम र बाम्तीमा निर्माणाधीन सबस्टेसनको निर्माण पूरा भई सञ्चालनमा आए पनि विद्युत्मा अझै सुधार हुने उक्त केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार