सुनारपानीमा खोरेत रोग विरुद्धको खोप अभियान जारी

सुनारपानीमा खोरेत रोग विरुद्धको खोप अभियान जारी

रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीका पशु कृृषकका गोठ–गोठमा पुगेर पशुप्राविधिकले खोरेत रोगविरुद्धको खोप लगाउन थालेका छन्। सुनारपानीका कृषकहरुले पालन गरेका पशु चौपायमा खोरेत रोग देखा परेको र सो रोग नियन्त्रणका लागी खोरेत विरुद्धको खोप लिएर पशुप्राविधिकहरु प्रत्येक कृषकको गोठगोठमा पुगेका वडाध्यक्ष रविन कार्की ‘नविन’ले जानकारी दिए।

निर्वाचनमा गरेका प्रतिवद्धताहरुलाई क्रमश कार्यान्वयन गर्दै लैजाने क्रममा वडाध्यक्ष कार्की पशुप्राविधिक मुकुन्द कुमार खड्का र बबिता प्रधानको टोलीसहित खोरेत विरुद्धको खोप लिएर प्रत्येक किसानका गोठ–गोठमा पुगिरहेका छन् । यसअघि पशुमा देखिने विभिन्न रोग नियन्त्रण र औषधीउपचारका लागी कृषक आँफै प्राविधिक समक्ष धाउनुपर्ने जटिलता थियो। तर नयाँ जनप्रतिनिधि निर्वाचित भएपश्चात वडाले नै यसको समन्वय गरिदिएका कारण आँफुहरुलाई राहत मिलेको भन्दै कृषकहरुले खुशी व्यक्त गरेका छन्।

गाईभैँसी, बाख्रा, बङ्गुर लगाएतको खुरबाट एकआपसमा सर्ने खोरेत रोगबाट ठूलो क्षति हुने भएकाले समयमै सजगता अपनाउदै खोप लगाउन थालिएको वडाध्यक्ष कार्कीले बताए। उनले यस्ता खाले अभियान समय समयमा संचालन गरिराख्ने पनि बताएका छन्। खोप अभियान मात्रै नभई पशु स्वास्थ्य शिविर संचालन गर्ने लगाएतका विविध योजना बनाएको र त्यसलाई पनि क्रमश कार्यान्वयन गर्दै लैजाने कार्कीले जानकारी दिए। उनका अनुसार सुनारपानीका पशुकृषकलाई अत्मनिर्भर बनाउनका निम्ति पशुपालनमा अनुदान लगाएतका विभिन्न कार्यक्रम संचालनका निम्ती वडाले योजनाहरु बनाईरहेको छ।

वडाध्यक्ष कार्की नेकपा ९एस० बाट निर्वाचित जिल्लाका एकमात्रै जनप्रतिधि हुन्। वडामा पदभार सम्हालेपछि कोरखबरसँग सँग कुरा गर्दै उनले स्थानिय नागरिकका अपेक्षा धेरै रहेको बताएका थिए। नागरिकहरुका सबै अपेक्षा सम्बोधन गर्न हरसम्भव प्रयास गर्ने अठोट गरेका उनले आफूसँग भएको स्रोत साधनको सही व्यवस्थापन गरी नागरिकलाई सन्तुष्ट पारेर स्थानीय सरकारप्रतिको विश्वास बढाउनु आफ्नो पहिलो काम हुने जिकिर गरेका थिए।

आफ्नो प्रतिवद्धताअनुसार उनि फिल्डमा खटिन पनि थालिसकेका छन्। वडाध्यक्ष कार्की गएको आईतबार डोजर लिएर गाउँकै भ्यागुरे भन्ने ठाउँमा पुगेका थिए। बाग्मती प्रदेश सरकारद्धारा विनियोजित बजेटमार्फत निर्माण गरिने भनिएको आईतबारे–पारी भ्यागुरे सडकको नापजाँच र काम सुचारु गराउनका निम्ती उनि झरीमा पनि डोजर लिएर फिल्डमा गएका थिए भने सोमबार सुनारपानीका घरघरमा पानीका धारा पु¥याईने लक्ष्यका साथ धमाधम काम भईरहेको रामेछाप बृहत् पम्पिङ खानेपानी आयोजनाको कामको निरिक्षणमा निस्किएका थिए । निरिक्षणका क्रममा समयमै काम सम्पन्न गर्न र गुणस्तरियतामा ध्यान दिन सुझाव दिएको कार्कीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार