नगरपालिकालाई विकास र समृद्धिको बाटोमा अघि बढाउने सबैको साझा उद्देश्य : मेयर न्यौपाने

नगरपालिकालाई विकास र समृद्धिको बाटोमा अघि बढाउने सबैको साझा उद्देश्य : मेयर न्यौपाने

रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले राजनीतिक परिवर्तनले जनताको दैनिक जीवन र राष्ट्रको समृद्धिमा सकारात्मक प्रभाव नपारेसम्म परिवर्तनको संस्थागत र दिगोपनमा चुनौती रहिरहने बताउनुभएको छ ।

१५ औँ गणतन्त्र दिवसको अवसरमा रामेछाप नगरपालिकाद्धारा आयोजित प्रभातफेरी तथा प्रवचन कार्यक्रममा बोल्दै उहाँले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा नागरिकको हक, अधिकारलाई पूर्ण सुनिश्चित गर्दै रामेछाप नगरपालिकालाई विकास र समृद्धिको बाटोमा अघि बढाउने सबैको साझा उद्देश्य भएको बताउनुभएको छ।

उहाँले यो उद्देश्य प्राप्तिका लागि सबै राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाजका अगुवा तथा व्यावसायिक सङ्घसंस्था, सञ्चार जगत र आम नेपाली नागरिकलाई नगरको विकास र समृद्धिका लागि एकबद्ध भएर अघि बढ्न आह्वान गर्नुभएको छ । उक्त कार्यक्रममा रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्की,वडा नं ८ का वडाअध्यक्ष सन्तोष तामाङ ,पत्रकार महासंघ रामेछाप शाखाका अध्यक्ष बद्रि नयाँघरे लगायतले १५ औं गणतन्त्र दिवसको अवसरमा आफ्ना शुभकामना तथा भनाईहरु राखेका थिए ।

रामेछाप नगरपालिकाले गणतन्त्र दिवस ३ दिन विभिन्न कार्यक्रम गरेर मनाउने बताएको छ । शनिबार जिल्ला अस्पतालमा उपचारत विरामीलाई फलफूल वितरण,आईतबार प्रभातफेरी तथा प्रवचन र सोमबार साँझ दिपावली गरेर गणतन्त्र दिवस मनाउन लागिएको रामेछाप नगरपालिकाका प्रशासन शाखा प्रमुख नारायण सुवेदीले जानकारी दिनुभएको छ ।

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनको रुपमा यो दिवस मनाउने गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार