रामेछापको मतदान स्थलमा सुरक्षा व्यवस्था कडा,ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह

रामेछापको मतदान स्थलमा सुरक्षा व्यवस्था कडा,ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह

भोलि हुने निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय रामेछापले मतदान स्थलमा सुरक्षा व्यवस्था कडा बनाएको छ । रामेछापको २५ वटा मतदान स्थललाई अति संवेदनशील वर्गको वर्गीकरण भएसँगै ती मतदानस्थलमा सुरुक्षा व्यवस्था कडा पारिएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याएसँगै अति संवेदनशील र संवेदनशील केन्द्रमा वर्गीकरण गरी सुरक्षा चुनौतीको ख्याल गरेर सुरक्षा व्यवस्था कडा पारिएको रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले बताउनुभयो ।

उहाँले मतदाताहरुलाई ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गर्नुभएको छ । ९२ वटा मतदान स्थल र २ सय २३ वटा मतदान केन्द्र रहेको रामेछापमा २६ वटा मतदान केन्द्रलाई संवेदनशील निर्धारण गरिएको छ । जिल्लाको आठ वटा स्थानीय तहको मतगणना स्थलमा सीसी क्यामेरा पनि जडान गरिएको छ । स्थानीय तह निर्वाचनलाई लक्षित गरी जिल्लाभर मादक पदार्थ बिक्री वितरण र सेवनमा पनि प्रतिवन्ध लगाइएको छ ।

जिल्लामा सबै मतदान केन्द्रमा निर्वाचनको तयारी पूरा भएको छ । दुई दिन अघि नै सबै मतदान केन्द्रका कर्मचारी र सुरक्षाकर्मीहरू तोकिएको क्षेत्रमा पुगिसकेका छन । सबैजना आ आफ्नो क्षेत्रमा पुगेर मतदान केन्द्रको व्यवस्थापन, सर्वदलीय बैठक सम्पन्न गरि मतदाता परिचय पत्र समेत वितरण गरिसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार