३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मौन अवधि सुरु

३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मौन अवधि सुरु

पर्सि हुने स्थानीय तहको निर्वाचनका लागि गएराति १२ बजेदेखि मौन अवधी सुरु भएको छ । यो समयमा राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न पाउँदैनन् । मौन अवधिमा उम्मेदवारहरूले मत माग्ने, आफ्नो चुनावी अभियान गर्ने, सामाजिक सञ्जालमा पोष्ट गर्ने, मतदातासँग भेटघाट गर्नेलगायत कार्य गर्न मिल्दैन ।

मौन अवधिमा मतदाता प्रभावित पार्ने दुष्प्रयास हुनसक्ने भन्दै आयोगले त्यसलाई रोक्न र त्यस्ता अपराधमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सूचना सङ्कलकका रुपमा सयभन्दा बढी स्थानमा सुक्ष्म अनुगमनकर्ता खटाएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । गृहमन्त्रालय लगायतका सरोकारवाला निकायले भने मौन अवधिको अनुगमन र निगरानी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा भइरहेको बताएका छन् ।

मौन अवधिमा आचारसंहिता विपरितका गतिविधि हुने र मतदाता प्रभावित हुने गरेको विगतको निर्वाचनमा देखिएको भन्दै विज्ञहरूले भने निर्वाचन आयोग र सुरक्षा निकाय चनाखो हुनुपर्ने बताएका छन् । आयोगले मतदानको दिनसम्म संयमित हुन आम मतदाता तथा उम्मेदवारहरूलाई अनुरोध गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भोट हाल्ने उमेर पुगेका र मतदाता नामावलीमा नाम भएका सबैलाई आफ्नो अधिकार ढुक्क भएर प्रयोग गर्न अपील गर्नुभयो । देशभरका मतदान केन्द्रबाट नयाँ मतदाताको लागि आज र भोलि मतदाता परिचयपत्र वितरण तथा मतदाता शिक्षा कार्यक्रम पनि चलाइँदैछ । यसपालिको चुनावमा ६५ दल सहभागि छन् भने चुनावकै लागि १ लाख ९ हजार ८८ कर्मचारी खटिने पनि आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार