निर्वाचनको दिन यातायात बन्द,अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टासम्मका लागि बन्द 

निर्वाचनको दिन यातायात बन्द,अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टासम्मका लागि बन्द 

स्थानीय तहको निर्वाचन हुने दिन यही वैशाख ३० गते यातायात बन्द गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न यस्तो निर्णय गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

अत्यावश्यक सामग्री बोकेका सवारी साधन एम्बुलेन्स, खानेपानीको ट्यांकर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शब बाहन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सकले प्रयोग गर्ने सवारी साधन, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, तरकारी फलफूल तथा विद्युत सेवाजस्ता अत्यावश्यक सवारी साधन सञ्चालनमा भने निरन्तर रहने आयोगले जनाएको छ ।

मतदान कार्य सम्पन्न नभएसम्मका लागि तोकिएको क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन कार्य निषेध गर्ने निर्णय पनि आयोगले गरेको छ ।

मतपत्रमा सिसाकलमको प्रयोग नगर्न निर्वाचन अधिकृतहरूलाई आयोगको निर्देशन 

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतदान अधिकृतलाई मतपत्रमा हस्ताक्षर गर्दा सिसाकलमको प्रयोग नगर्न निर्देशन दिएको छ ।आयोगले सिसाकलम बाहेक कालो, रातो, नीलो वा हरियो मसीमध्ये कुनै मसी प्रयोग भएको कलम, डट्पेनले हस्ताक्षर गर्ने व्यवस्था मिलाउन सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको हो ।

निर्वाचनका दिन बिहान ७ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मतदान हुने सबै मतदान केन्द्रहरूमा वर्षातको पानीबाट मतदान कार्य र सो पश्चात मतगणना कार्य प्रभावित नहुनेगरी जोगाउन र निर्वाचन सामग्री समेतको सुरक्षा गर्न आवश्यक पर्ने पाल त्रिपाल वा प्लाष्टिकको व्यवस्था गर्न पनि आयोगले सम्बन्धित निर्वाचन अधिकृत, मतदान अधिकृतलाई निर्देशन दिएको छ ।

आज रातिदेखि अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टासम्मका लागि बन्द 

आज रातिदेखि सबै अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टासम्मका लागि बन्द हुने भएका छन् ।स्थानीय तह निर्वाचन सुरक्षाका लागि सरकारले आज मध्यरातिदेखि मतदान हुने दिनसम्म सीमाबाट हुने आवागमन बन्द गर्ने निर्णय गरेको हो । मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने सरकारले निर्णय गरेको छ ।

सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरूलाई आज मध्यरातिदेखि सीमानाका बन्द गर्न भनिसकिएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्रालयको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालयले सीमा नाका बन्द भएको सूचना जारी गर्नेछन् । अन्तर्राष्ट्रिय हवाई उडानका लागि विमानस्थलसम्म पुग्ने र विदेशबाट फर्किनेहरूका लागि भने पासपोर्ट, भिसा र हवाई टिकटको आधारमा जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मीसँग समन्वय गरेर गन्तव्यसम्म पुग्न सहजीकरण गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार