आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न निर्वाचन आयोगको आग्रह

आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न निर्वाचन आयोगको आग्रह

निर्वाचन आयोगले निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन गर्न राजनीतिक दल तथा उम्मेदवारहरुसँग अनुरोध गरेको छ । आयोगले आज विज्ञप्ति निकालेर राजनीतिक दल तथा उम्मेदवारहरूले आफ्नो पार्टी कार्यालय बाहेकका स्थानमा झण्डा, उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड नराख्न, श्रव्य सामग्री नबजाउन र श्रव्यदृश्य सामग्रीहरु प्रदर्शन नगर्न भनेको छ ।

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन आयोगले २५ चैत २०७८ देखि निर्वाचन आचार संहिता लागू गरिसकेको भन्दै आयोगले सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने प्रावधान रहेको स्मरण गराएको छ ।

आयोगले राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि वा कुनै व्यक्तिले आचार संहिता विपरीत पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले जस्ता प्रचारात्मक सामग्री प्रयोग गरेको पाइएमा तत्काल हटाउने वा हटाउन लगाउने र त्यस्तो स्थानलाई दुरुस्त बनाई राख्न निर्देशन दिएको छ ।

सार्वजनिक स्थानमा आचारसंहिता विपरीत प्रचारात्मक सामग्री राखेको पाइए स्थानीय तहको उम्मेदवारले नै सो सामग्री राखेको ठहर गरी सोही दल वा उम्मेदवारले उक्त सामग्री हटाउनु पर्ने आयोगले भनेको छ । आदेशको बर्खिलाफ गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना हुने आयोगले जनाएको छ ।

यस्तै आयोगले मतदातालाई धम्की दिने वा आर्थिक प्रलोभन देखाउन खोजे एक लाख रूपैंया जरीवाना वा दुई वर्षसम्म कैद वा दुबै सजायँ हुन सक्ने आयोगले जनाएको छ । त्यसैगरी मतपत्र, मतपेटिका वा अन्य सामग्री खोस्न, लुट्न, चोर्न, कब्जामा लिने, खोल्ने, नष्ट गर्ने वा निर्वाचनमा प्रयोग हुन रोकावट गरे सोही बमोझिम कारवाही हुने छ ।

तर सिन्धुपाल्चोक मेलम्ची नगरपालिका– १० का वडा अध्यक्षका उम्मेदवार अमृत खनालले मतदाताको पाउमा हजारको नोट राखेर ढोग गर्दै भोट मागिरहेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । यसको चौतर्फि बिरोध भएपछि खनालले भने आफूले फुपु दिदिलाइ ढोगेर दक्षिणा दिएको प्रष्टिकरण दिनुभएको छ । सिन्धुपाल्चोकका मुख्य निर्वाचन अधिकृत चन्द्र प्रकाश अधिकारीले यसबारेमा थप अध्ययन गरि स्पष्टिकरण सोध्ने तयारी भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार