आगामी स्थानीय तहको निर्वाचनका स्वतन्त्र उम्मेद्वारलाई ४० प्रकारका चुनाव चिह्न वितरण

आगामी स्थानीय तहको निर्वाचनका स्वतन्त्र उम्मेद्वारलाई ४० प्रकारका चुनाव चिह्न वितरण

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई निर्वाचन आयोगले ४० प्रकारका निर्वाचन चिह्न प्रदान गरेको छ । आयोगकाअनुसार देशभर १२ हजार ७ सय ८९ जना स्वतन्त्र उम्मेदवार छन् । यसअघि नै छपाइ गरेर ल्याइएका चुनाव चिह्न मध्येबाट स्वतन्त्र उम्मेदवारको नाममा निर्वाचन चिन्ह् उपलब्ध गराइएको हो ।

लौरो, बिरालो, अर्ना, बँदेल, भ्यागुतो, चिल, खसीको टाउको, जेब्रा, काग, भालु, कङ्गारुका साथै केरा, गुलाब, भुइँकटहर, हाँस, आँप, लाल्टिन, घन्टाघर, मुढा, प्रेसर कुकर, ग्यास सिलिण्डर लगायतका चुनाव चिह्न स्वतन्त्र उम्मेदवारलाई प्रदान गरिएको हो। सबै भन्दा चर्चामा रहेको भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिनुभएका जगन्नाथ पौडेललाई भुँइकटहर चुनाब चिन्ह् प्रदान गरिएको छ भने काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका बालेन शाहलाई लौरो चुनाव चिह्न दिइएको छ ।

पोखरा महानगरपालिकामा स्वतन्त्र तर्फबाट मेयरमा उठ्नुभएका गनेस पौडेललाई पनि लौरो चुनाब चिह्न दिइएको छ । धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिनुभएका गोपाल हमाललाई आँप चिन्ह उपलब्ध गराइएको छ ।विराटनगर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका उमेश यादव र उपप्रमुख पदका उम्मेदवार नमिता न्यौपानेलाई ‘लालटिन’ चिह्न प्रदान गरिएको आयोगले जनाएको छ ।

आयोगले स्थानीय तह निर्वाचन निर्देशिकाको अनुसूची २७ मा स्वतन्त्र निर्वाचन चिह्नहरूको सूची राखेको छ । ६ वटा राष्ट्रिय दलले भने आफ्नै निर्वाचन चिह्न प्राप्त गर्नेछन् । ती दलहरू नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी हुन् । राष्ट्रिय मान्यता प्राप्त दलले दलकै चिह्न पाउने व्यवस्था स्थानीय तह निर्वाचन निर्देशिकामा उल्लेख छ । राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, राप्रपा, विवेकशील साझा पार्टीलगायत २३ दलले पनि आफ्नै निर्वाचन चिह्न पाएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार