जेठ १ गतेदेखि शनिबार र आइतबार २ दिन सार्वजनिक विदा दिने सरकारको निर्णय

जेठ १ गतेदेखि शनिबार र आइतबार २ दिन सार्वजनिक विदा दिने सरकारको निर्णय

सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । विदा २ दिन दिएपछि सरकारले कार्यालय समय भने बढाएको छ ।

कार्यालय समय अब विहान ९ः३० देखि ५ः३० सम्मको हुने छ । हाललाई परीक्षणको रुपमा जेठ १ गतेदेखि लागू हुने गरी विहान ९ः३० देखि साँझ ५ः३० बजे सम्म कार्यालय समय कायम गर्ने र शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय भएको कार्कीले बताउनुभयो । मन्त्रिपरिषद बैठकले कम आवश्यक, बिलासीजन्य र स्वास्थ्यमा नकारात्मक असर पार्ने १० वस्तु आयातमा प्रतिबन्ध लगाउने निर्णय पनि गरेको छ ।

तर दुइ दिन विदा दिने सरकारको निर्णयमा आलोचना पनि भएको छ भने केही समर्थन पनि गरेका छन् । कतिपयले भने दुइ दिन विदा दिदैमा सरकारले सोचेजस्तो इन्धन खपत र आर्थिक भार कम हुने संभावना नरहेको कतिपयको विश्लेषण रहेको छ ।

यस्तै बैठकले सरकारले आगामी आर्थिक वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रति क्विन्टल गहुँको न्यूनतम समर्थन मूल्य तीन हजार एक सय ६५ निर्धारण गर्ने निर्णय गरेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार