रामेछापको सुकाजोरमा औद्योगिक ग्राम बन्दै

रामेछापको सुकाजोरमा औद्योगिक ग्राम बन्दै

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा औद्योगिक ग्राम बन्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालू आर्थिक वर्ष २०७८÷७९ मा रामेछाप नगरपालिकालाई औद्योगिक ग्राम बनाउन छनोट गरेको हो । रामेछाप नगरपालिकाले  औद्योगिक ग्राम पूर्वाधार विकासका लागि पहिलो किस्तामा रु ९२ लाख बजेट विनियोजन गरी सम्झौता गरेको वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले बताउनुभयो ।

उक्त औद्योगिक ग्राम सुकाजोरको टावर डाँडामा निर्माण हुनेछ । औद्योगिक ग्रामका लागि जग्गाको र त्यसको डिपिआर बनाएर मन्त्रालयमा पठाएपछि औद्योगिक ग्रामका रुपमा छनोट भएको  वडाअध्यक्ष कार्कीले बताउनुभयो । औद्योगिक ग्राम स्थापना गर्ने सरकारको नीतिअनुसार पूर्वाधारसहित डिपिआर मन्त्रालयमा पेस गरेको र त्यसैका आधारमा सङ्घीय सरकारले रकम विनियोजन गरेको उहाँको भनाई छ ।

औद्योगिक ग्रामभित्र प्रशासनिक भवन, बैंक तथा वित्तीय संस्था, दिवा शिशु स्याहार केन्द्र, सामान प्रदर्शनी स्थल तथा बिक्री कक्ष, शौचालय तथा स्नानगृह, पार्किङ, क्यान्टिन र प्राथमिक स्वास्थ्य केन्द्र निर्माण हुनेछ । देशभरका चार नगरपालिका र दुई गाउँ पालिकालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक ग्राम बनाउन छनोट गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार