नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजारमा झरेको छ । पछिल्लो १५ दिनदेखि देशभर नयाँ सङ्क्रमित थपिनेको सङ्ख्या निरन्तर ओरालो लाग्दै गएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशभर ४० हजार १ सय ११ सक्रिय सङ्क्रमित रहेका छन् ।

कोरोनाको तेस्रो चरणको लहरमा झन्डै ९५ हजार पुगेको सक्रिय सङ्क्रमितको सङ्ख्या निरन्तर ओरालो लाग्न थालेपछि जनजीवन पनि सामान्य बन्दै गएको छ । गत २४ घन्टामा देशभर १ हजार ५ सय ७० जनामा सङ्क्रमण पुष्टि भएको छ भने थप १३ जनाको मृत्यु भएको छ । देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप ६ हजार १ सय ४६ जना स्वस्थ भएका छन् ।

नेपाल आइपुग्यो थप ८ लाख ६२ हजारभन्दा बढी मात्रा कोरोनाविरुद्धको खोप 

सरकारले थप ८ लाख ६२ हजार ८० मात्रा कोरोनाविरुद्धको खोप ल्याएको छ । कोभ्याक्स सुविधाअन्तर्गत बेलायत सरकारको सहयोगमा उपलब्ध एस्ट्राजेनेकाको २१ लाख ७४ हजार १ सय ६० मात्रा खोपमध्ये हिजो ८ लाख ६२ हजार ८० मात्रा खोप काठमाडौं आइपुगेको हो ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्रले चौरसियाले बाँकी १३ लाख १२ हजार ८० मात्रा खोप फागुन २ गते नेपाल आइपुग्ने बताउनुभयो ।

सरकारले आगामी चैत मसान्तसम्म लक्षित सबै वर्गलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्य लिए अनुसार खोप ल्याउँदै आएको छ । आएका खोपहरू पालो अनुसार पहिलो मात्रा लगाउन छुटेकालाई पहिलो मात्रा र दोस्रो मात्रा लगाउन बाँकी भएकालाई दोस्रो मात्रा तथा बुस्टर लगाइने चौरसियाले बताउनुभयो ।

यसैबीच,सरकारले ६ जिल्ला र १ सय ९ स्थानीय तहलाई खोपको मौज्दात विवरण बुझाउन निर्देशन दिएको छ । मन्त्रालयले हिजो एक सूचना जारी गर्दै ६ जिल्ला र १ सय ९ स्थानीय तहलाई कोरोनाविरुद्वको खोपको मौज्दात विवरण भोलि दिउँसो ४ बजेसम्म अनिवार्य रुपमा प्रविष्ट गर्न निर्देशन दिएको हो ।

कोरोनाविरुद्वको खोप अभिलेख सम्बन्धमा छानबिन गर्न गठित समितिको पहिलो बैठकको निर्णय अनुसार कोरोनाविरुद्वको खोप मौज्दात र कोरोना खोप लगाएका सबै व्यक्तिहरूको विवरण २०६८ माघ २१ गतेसम्म अनिवार्य प्रविष्ट गर्न भनिएकोमा ६ जिल्ला र १ सय ९ स्थानीय तहले अझै विवरण पठाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार