तथ्यांक विभागले १२ औँ जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । वि.स. २०७८ सालमा सम्पन्न गणनाको तथ्यांक अनुसार रामेछापको जनसंख्या वृद्धिदर माइनसमा झरेको छ । रामेछापमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको तथ्यांक विभागले जनाएको छ । रामेछाप जिल्लाको जनसंख्या वृद्धिदर माइनस १.६५ प्रतिशत छ ।
विभागले बुधबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांक अनुसार रामेछाप जिल्लाको कुल जनसंख्या एक लाख ७० हजार ६२० छ । २०६८ सालमा रामेछापको जनसंख्या २ लाख २ हजार ६४६ थियो । १० वर्षमा ३२ हजार जनसंख्या घटेको देखिएको छ ।
नेपालको जनसंख्या तीन करोड पुगेन, १० वर्षमा २७ लाखले बढ्यो जनसंख्या
नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । यो वि.स. २०६८ को जनगणनाको तुलनामा २७ लाखले बढी हो । यस्तै, यो जनगणनाबाट नेपालको जनसंख्या वृद्धिदरमा समेत गिरावट आएको देखिएको छ ।
सार्वजनिक नतिजा अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको हो । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ जना र महिलाको संख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ रहेको तथ्यांक विभागले जनाएको छ ।
प्रारम्भिक नतिजा अनुसार नेपालमा बसोबास गर्ने परिवारको संख्या ६७ लाख ६१ हजार ५९ रहेको छ भने ति परिवारहरु ५६ लाख ४३ हजार ९ सय ४५ वटा घरमा बसेको देखिएको छ । त्यसैगरी प्रतिपरिवार ४ दशमलब ३२ जना सदस्य रहेको देखिएको छ ।