जिल्ला प्रशासन कार्यालय रामेछापले घरघरमा दिप प्रज्वलन गरि संविधान दिवस मनाउन आग्रह गरेको छ । रामेछाप प्रशासनले बुधबार एक सूचना जारी गरि नेपालको संविधान २०७२ जारी भएको दिनको उपलक्ष्यमा असोज २, ३ र ४ गते तिनदिनसम्म विविध कार्यक्रम गरेर दिवस मनाउन आग्रह गरेको हो । हरेक वर्ष विभिन्न कार्यक्रम गरि संविधान दिवस मनाइदै आएकोमा यसवर्ष विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण विगतका वर्षहरुमा जस्तै भौतिक उपस्थितीमा दिवस मनाउन कठिनाई भएकोे भन्दै प्रशासनले असोज २, ३ र ४ गते तिनदिनसम्म विविध कार्यक्रम गरेर दिवस मनाउन आग्रह गरेको हो ।
रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जारी गर्नुभएको सूचनामा प्रदेश तथा स्थानीय तहका सम्पुर्ण सरकारी निकाय ,प्रतिष्ठान , संघसंस्था,कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराउने तथा आम सर्वसाधारणहरुले असोज २,३ र ४ गते घरघरमा दिप प्रज्वलन गरि संविधान दिवस मनाउने उल्लेख गरिएको छ । संविधान दिवसमा स्थानीय संचारमाध्यम तथा पत्रपत्रिकाबाट संविधानसंग सम्बन्धित विभिन्न सन्देश तथा कार्यक्रमहरु प्रसारण तथा प्रकाशन गर्ने, विभिन्न मन्दिर , बुद्ध विहार ,मस्जीद ,चर्च एवं गुरुद्धार लगायतका धार्मिक स्थालहरुमा नित्य पुजा गर्दा राष्ट्र राष्ट्रियता,स्वतन्त्रता र संविधानका लागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात शहीदहरुको आत्माको चिरशान्तिका लागि राष्ट्रका तर्फबाट उच्च सम्मान र श्रद्धाञ्जली प्रकट गर्दै पुजापाठ तथा प्रार्थना गर्ने लगायतका विभिन्न कार्यक्रम गरेर दिवस मनाउन रामेछाप प्रशासनले आग्रह गरेको हो ।