पछिल्लो २४ घण्टामा देशभर गरिएको परीक्षणमा थप एक हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा नौ हजार एक सय ६५ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ५४ हजार एक सय ५९ पुगेको छ । त्यसैगरी आइतबार ११ सय ७३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । अहिलेसम्म संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या ३८ हजार ६ सय ९७ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार संक्रमण निको हुने दर ७१.५ प्रतिशत रहेको छ । हाल सक्रिय संक्रमित भने १५ हजार एक सय १७ जना छन् । त्यसमध्ये सात हजार सात सय ३० जना संस्थागत र सात हजार तीन सय ८७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये एक सय ७९ जनाको आइसियू र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै गएको २४ घण्टामा नौ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ४५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो ।