रामेछापमा फरार प्रतिवादी तीन जना पक्राउ

रामेछापमा फरार प्रतिवादी तीन जना पक्राउ

विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका तीन जना प्रतिवादीलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएर हालसम्म फरार रहेका प्रतिवादीहरूको खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा सुनापति गाउँपालिका–३ हिलेदेवीका तारा बहादुर ग्यापक रहेका छन्। बैंकिङ कसुर मुद्दामा उनलाई ८ दिन कैद र १८ लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएको थियो। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको समन्वयमा भक्तपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, मन्थली नगरपालिका–१० का रोशन भण्डारी ज्यान मार्ने उद्योग मुद्दामा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना सजाय पाएका व्यक्ति हुन्। मन्थली नगरपालिका–९ का शिशिर राज गिरी दूषित खाद्य पदार्थसम्बन्धी मुद्दामा १५ हजार रुपैयाँ जरिवाना सजाय पाएर फरार रहेका थिए।

पक्राउ परेका तीनै जनालाई फैसला कार्यान्वयनका लागि रामेछाप जिल्ला अदालतमा दाखिला गराइसकिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापले २०८३ मंसिर ४ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार