बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ शक्तिशाली बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रशासनले कात्तिक १२ देखि १४ गतेसम्म धानबाली नकाट्न र नभित्र्याउन, हिमपात हुने क्षेत्रमा भ्रमण नगर्न तथा अत्यावश्यकबाहेक यात्रा नगर्न अनुरोध गरेको छ ।
चक्रवातको प्रभावले हावाहुरी, चट्याङ, मध्यमदेखि भारी वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात, हिमपहिरो र हिमआँधीको जोखिम रहेको प्रशासनले जनाएको छ ।
प्रशासनले नदी तथा खोलाका तटीय क्षेत्र र पहिरोको जोखिममा रहेका बस्तीका बासिन्दालाई विशेष सावधानी अपनाउन भनेको छ ।
जोखिम बढेमा स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरी प्रभावितलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउनसमेत आग्रह गरिएको छ ।
साथै, अद्यावधिक मौसम पूर्वानुमान र आधिकारिक चेतावनी पालना गर्न प्रशासनले अनुरोध गरेको छ ।


