रामेछाप जिल्लामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू,ढुक्क भएर चाडपर्व मनाउनुहोस

रामेछाप जिल्लामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू,ढुक्क भएर चाडपर्व मनाउनुहोस

रामेछापमा चाडपर्व सुरु भएसँगै गाउँघर,शहर र बजारमा दशैँको माहोल तातिएको छ । यो बेला दशैँ मनाउन गाउँघर आउनेहरु बढेका छन । चाडपर्वको समयमा हुन सक्ने अपराधिक घटनाहरु चोरी,डकैती,लुटपाट जस्ता घटना हुन नदिन नागरीकहरु पनि सचेत र सजग हुनु जरुरी छ । जिल्ला प्रशासन कार्यालयले पनि यस्ता गतिबिधिहरु ह्ुन नदिन चाडपर्व लक्षित सुरक्षा योजना बनाएर काम गरिरहेको छ । रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी राम बहादुर केसीसँग गरिएको कुराकानीको सम्पादित अंश : 

चडपर्व लक्षित सुरक्षा योजना कस्तो बनेको छ ?

चाडपर्वका बेला यात्रुहरूको चाप बढ्ने र सम्भावित सास्ती वा घटनाहरू हुन सक्ने कुरालाई ध्यानमा राख्दै जिल्लाका चार प्रमुख नाकाहरू— सेलेघाट, मन्थली देवकोटा चोक, खिम्ती र सित्खामा ‘यात्री सहायता कक्ष’ (हेल्प डेस्क) स्थापना गरिएको छ। यी सहायता कक्ष र चेकिङ प्वाइन्टहरू मार्फत सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राखे÷नराखेको, चालकले मादक पदार्थ (मापसे) वा लागूपदार्थ (लापसे) सेवन गरे÷नगरेको कडाइका साथ जाँच गरिनेछ। साथै खाद्यन्न तथा अन्य सामाग्री ओसारपसारमा ओभरलोडका कारण हुन सक्ने दुर्घटना, चोरी, डकैती जस्ता अपराध नियन्त्रण गर्न निरन्तर निगरानी राखिनेछ।

सुरक्षा निकायलाई कसरी परिचालन गर्नु भएको छ ?

सुरक्षा व्यवस्थालाई मजबुत बनाउन प्रहरीले २३ किसिमका ड्युटीहरू परिचालन गरेको छ। जस अन्तर्गत मोवाइल गस्ती, ट्राफिक चेकिङ, मापसे चेकिङ, सादा पोशाक (सिभिल ड्रेस) मा प्रहरी परिचालन, गस्ती टोली आदि सक्रिय पारिएको छ। जिल्लाभर करिब ३ सय ५० जना नेपाल प्रहरी परिचालन गरिएको छ भने आवश्यकता अनुसार सशस्त्र प्रहरी बल लगायत थप सुरक्षाकर्मीसमेत परिचालन गर्ने गरी ’प्लान वान’, ’प्लान टु’ र ’प्लान थ्री’ जस्ता रणनीतिक योजनाहरू तयार पारिएको छ।

बजार, वित्तीय क्षेत्र र सरकारी कार्यालयको सुरक्षा कसरी हुन्छ ?

चाडपर्वको समयमा आर्थिक कारोबार बढी हुने भएकाले बैंक तथा वित्तीय क्षेत्र, व्यापारिक प्रतिष्ठान र किनमेलका लागि मानिसको भीडभाड हुने बजार क्षेत्रमा विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ। बजार अनुगमनलाई नियमित गर्नुका साथै सार्वजनिक बिदाको समयमा सरकारी निकाय तथा कार्यालयहरूमा पालोपहराको व्यवस्था मिलाइएको छ। सुरक्षा अवस्थाको नियमित समीक्षा गर्न जिल्ला सुरक्षा समितिको बैठक बसी विश्लेषण गर्ने गरिएको छ।

जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था कस्तो छ ?

जिल्लाको समग्र शान्ति सुरक्षा अवस्था हालसम्म सामान्य र नियन्त्रणमा रहेको छ। कुनै पनि अप्रिय घटना वा असुरक्षाको अनुभूति भएमा नजिकैको प्रहरी चौकी, इलाका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा तुरुन्त खबर गर्न आग्रह गर्दछु । सञ्चार माध्यमबाट तुरुन्त सूचना आदानप्रदान भई प्रहरी टोली घटनास्थल पुग्ने व्यवस्था मिलाइएको छ।

चाडपर्व भडकिलो नबनाउन र सचेत रहन नागरीकलाई के अपील छ ?

चाडपर्वका नाममा हुन सक्ने मादक पदार्थ सेवन, जुवातास, झै–झगडा जस्ता अवाञ्छित गतिविधि नगर्न र कसैले यस्तो गरेको देखेमा तत्काल सुरक्षा निकायमा खबर गर्न आग्रह गर्दछु । चाडपर्वलाई भड्किलो नबनाई सचेत र विवेकपूर्ण ढङ्गले मनाउन तथा सामाजिक सद्भाव र एकता कायम राख्न सबै नागरिकमा हार्दिक अपील गर्दछु ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार