जिल्ला हुलाक कार्यालय रामेछापले १५२औँ विश्व हुलाक दिवसको अवसरमा आयोजित चिठी/पत्र लेखन प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ। प्रतियोगितामा तामाकोशी अंग्रेजी माध्यमिक विद्यालयकी समृद्धि कार्की प्रथम भएकी छन्।
जिल्ला हुलाक कार्यालय रामेछापले सार्वजनिक गरेको नतिजाअनुसार मन्थली माध्यमिक विद्यालयकी रिस्ता कार्की द्वितीय, मन्थलीस्थित केब्स स्कुलकी जस्मिना कार्की तृतीय र शारदा माध्यमिक विद्यालय, ठोसेकी रिया बस्नेत सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्।
विश्व हुलाक दिवसका अवसरमा ‘One Postal Network, Infinite Possibilities’ भन्ने नाराका साथ मनाइने कार्यक्रमअन्तर्गत हुलाक सेवाको प्रवर्द्धनमा सरोकारवालाको भूमिका विषयमा चिठी लेखन प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा प्राप्त ४६ वटा चिठी तथा पत्रको मूल्यांकन तथा परीक्षणपछि उत्कृष्ट विद्यार्थी छनोट गरिएको कार्यालयले जनाएको छ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ । हुलाक सेवाको महत्व, यसको प्रवर्द्धन तथा विद्यार्थीमा सिर्जनात्मक लेखन क्षमताको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगिताले विद्यार्थीलाई चिठी लेखनप्रति आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


