रामेछापको लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटमा दशैँका लागि कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महत रहेका छन्।
प्रहरीका अनुसार सोमबार मध्यान्ह दशैँका लागि कमेरो माटो लिन भन्दै घरबाट निस्किएका महत अबेरसम्म घर नफर्किएपछि परिवारले खोजी गरेका थिए।
खोजीका क्रममा आज दिउँसो करिब १२ः३० बजे घरदेखि करिब १.५ किलोमिटर उत्तरमा रहेको कमेरो माटो निकाल्ने स्थानमा उनी माटोको ढिस्कोले पुरिएको अवस्थामा मृत फेला परेका हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।


