चोरीको सुन कारोबारमा संलग्नु रामेछापका करिब आधा दर्जन सुनचाँदी व्यवसायी पक्राउ

चोरीको सुन कारोबारमा संलग्नु रामेछापका करिब आधा दर्जन सुनचाँदी व्यवसायी पक्राउ

चोरी गरेको सुन कारोबारमा संलग्‍न रामेछाप सदरमुकाम मन्थलीका करिब आधादर्जनसुनचाँदी व्यवसायी पक्राउ परेका छन् । चोरी गरेर ल्याएको बिना बिलको सुन खरिद गर्ने जिल्ला सदरमुकाम मन्थलीका ५ जना सुन व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मुलुकी अपराध (संहिता ) ऐन, २०७४ को परिच्छेद २६ दफा २८७ (१)  मा कुनै कसूर गरी प्राप्‍त गरेको सम्पत्ति हो भन्‍ने जानीजानी वा विश्‍वास हुने कुनै मनासिब कारण भई कसैले कुनै सम्पत्ति लिन, राख्‍न वा खरिद,बिक्री गर्न हुँदैनु भनिएको छ ।

उक्त कसूर गर्नेलाई पाँच वर्ष कैद वा पचास हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने कानूनी प्रावधान छ । तर रामेछापका सुनचाँदी व्यवसायीले कानूनको समेत धज्जी उडाउँदै कुनै कसूर गरी प्राप्‍त गरेको सम्पत्ति हो कि भनेर विश्‍वास गर्नुपर्ने मनासिब कारण हुँदाहुँदै पनि बिना बिलको चोरी गरेको सुन खरिद,बिक्री गरेका थिए ।

त्यसरी चोरीको सुन खरिद गर्ने सुनचाँदी पसलहरुमा मन्थली नगरपालिका वडा नं. १ स्थित श्री सुविना सुनचाँदी पसल, श्री न्यू सनराइज ज्वेलर्स र श्री दिपलक्ष्मी सुनचाँदी पसलका सञ्‍चालक रहेका छन् ।

उनीहरुले जिल्ला रामेछाप गोकुलगङ्गा गाउँपालिका वडा नं. २ दोर्जे बस्‍ने वर्ष ५३ की मैया कार्कीसँग चोरीको सुन खरिद गरेका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रहरीले विभिन्‍न व्यक्तिको सुन चोरी गरेर ल्याई बिक्री गर्ने गोकुलगङ्गा गाउँपालिका वडा नं. २ दोर्जे बस्‍ने वर्ष ५३ की मैया कार्कीलाई पनि पक्राउ गरिसकेको छ । प्रहरीले विभिन्‍न समयमा उनीहरुलाई पक्राउ गरेको हो ।

सुनचाँदी कला व्यवसायी संघ,रामेछापका कार्यबाहक अध्यक्ष र सचिव पनि पक्राउ

प्रहरीले नेपाल सुनचाँदी कला व्यवसायी संघ,रामेछापका कार्यबाहक अध्यक्ष तथा नवदुर्गा सुनचाँदी कला उद्योगका सञ्‍चालक तुलबहादुर विश्‍वकर्मा र सचिव तथा श्री न्यू सनराइज ज्वेलर्सका सञ्‍चालक वर्ष ३६ का सिताराम लोहारलाई पनि पक्राउ गरेको छ ।

सचिव लोहारलाई २०८३।०५।२९ गते मन्थलीस्थित उनको पसलबाटै पक्राउ गरेको थियो भने कार्यबाहक अध्यक्ष तुलबहादुर विश्‍वकर्मालाई जिल्ला अदालत दोलखाबाट पक्राउ पूर्जी लिई जिल्ला प्रहरी कार्यालय दोलखाले २०८३ असोज १५ गते पक्राउ गरेको थियो ।

विश्‍वकर्मा अहिले जिल्ला प्रहरी कार्यालय दोलखाको प्रहरी हिरासतमा रहेका छन् । उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । यता प्रहरी हिरासतमा रहेका सचिव लोहारलाई भने प्रहरीले तीन दिन हिरासतमा राखी हाजिरी जमानीमा छाडिसकेको छ ।

यसैगरी मन्थली नगरपालिका वडा नं. १ स्थित श्री सुविना सुनचाँदी पसलका सञ्‍चालक वर्ष २८ की निशा विश्‍वकर्मा, उनका पति विश्वराज विश्वकर्मा र श्री दिपलक्ष्मी सुनचाँदी पसलका सञ्‍चालक वर्ष ३३ का डिलबहादुर रसाइली पनि प्रहरी नियन्त्रणमा नै रहेका छन् । उनीहरुलाई असोज ९ गते पक्राउ गरेका थियो । उनीहरु अहिले पनि प्रहरी हिरासतमै रहेका छन् ।

एकै कसूरमा पक्राउ परेका कोही हिरासत छल्दै, कोही हिरासतमै

एकै प्रकृतिको कसूरमा पक्राउ परेका केही व्यक्ति हिरासतमै दिन बिताइरहेका छन् भने केही राजनीतिक पहुँचवाल व्यक्ति मुद्दा अभियोजन नगरी सेटिङमा हिरासतमुक्त भएका छन् ।

यसरी राजनीतिक प्रभाव र पहुँचका भरमा हिरासतमुक्त हुने व्यक्तिहरुमा न्यू सनराइज ज्वेलर्सका सञ्‍चालक वर्ष ३६ का सिताराम लोहार र श्री सुविना सुनचाँदी पसलका सञ्‍चालिका वर्ष २८  निशा विश्‍वकर्मा हुन् ।

बिरामी भए भनेर अस्पताल भर्ना भई स्वास्थ्य रिपोर्ट पेश गरी हाजिरी जमानीमा छुटेका व्यक्तिहरु खुलेआम दिनदिनै प्रहरी कार्यालय धाउने गरेका छन् । तर प्रहरी भने मुकदर्शक बनेर बस्‍ने गरेको छ ।

उही प्रकृतिको कसुरमा पक्राउ परी हिरासतमा रहेका अन्य व्यक्तिहरु भने हिरासतमै रहेका छन् । प्रहरीको यस किसिमको द्वैध व्यवहारले समान न्यायिक सिद्धान्त र कानूनी सर्वोच्‍चताको बर्खिलाप गर्ने काम गरेको जानिफकारहरु बताउँछन् ।

पक्राउ परेका व्यक्तिहरुबाट चोरीको सुन बरामद

पक्राउ परेका सुन व्यवसायीश्री न्यू सनराइज ज्वेलर्सका सञ्‍चालक वर्ष ३६ का सिताराम लोहारबाट चोरीको सुन १४ लाल १ प्वाइन्ट तौल भएको २ थान रिङ बरामद भएको छ ।

यस्तै डिलबहादुर रसाइलीबाट ४२ लाल २ प्वान्ट तौल भएको २ थान रिङ बरामद भएको छ । निशा विश्‍वकर्माले भने चोरीको सुन खरिद गरी बिक्री गरिसकेको पाइएको छ ।

यसैगरी चोरीमा संलग्‍न मुख्य अभियुक्त मैया कार्कीबाट पहेलो रङको धातुको बेरुवा रिङ २ थान, औठी १ थान, फुली २ थान,  किप्याड मोबाइल ४ थान, नगद ७ हजार ३ सय रुपैयाँ, क्याट लेखिएको झोला १ थानर उनले चोरी गर्दा लगाएको गाढा रातो रङको ज्याकेट, रातो रङकोकुर्ता र सुरुवाल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार