नाबालिका छात्रालाई बाल यौन दुरुपयोग गरेको आरोपमा रामेछापमा एक शिक्षक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार विद्यालयमा अध्यापन गराउँदै आएका ४८ वर्षीय नवराज भण्डारी (नविन) पक्राउ परेका हुन्। झापा गौरादह नगरपालिका–४ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ मा बस्दै आएका भण्डारीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार १३ वर्षीया नाबालिका छात्रालाई परीक्षामा पास गराइदिने भन्दै फकाउने, संवेदनशील अंगमा छुने तथा चिमोट्ने र फेसबुक म्यासेन्जरमार्फत अश्लील फोटो, भिडियो तथा सन्देश पठाउनेजस्ता गतिविधि गरी पटक–पटक बाल यौन दुरुपयोग गरेको आरोप छ।
उक्त आरोपमा भण्डारीलाई २०८३ असोज १४ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। रामेछाप जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ।
प्रहरीले घटनामा संलग्न भनिएका व्यक्तिमाथि कानुनबमोजिम अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ।


