रामेछापको रामेछाप नगरपालिका–७ सुुकाजोर वडा कार्यालयले काठमाडौं उपत्यकामा बसोबास गरिरहेका वडावासीलाई लक्षित गरी सामाजिक सुरक्षा भत्ता नवीकरण तथा व्यक्तिगत घटना दर्ता सेवा काठमाडौंमै उपलब्ध गराउने भएको छ ।
उच्च शिक्षा, उपचार तथा विभिन्न कारणले काठमाडौं उपत्यकामा अस्थायी रूपमा बसोबास गरिरहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई वडामै पुगेर सेवा लिन कठिनाइ भइरहेको भन्दै वडा कार्यालयले काठमाडौंमै सेवा सञ्चालन गर्न लागेको हो ।
वडा कार्यालयले जारी गरेको सूचना अनुसार यहि असोज १७ र १८ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म काठमाडौंस्थित होटल कोजिईन जडिबुटी काठमाण्डौँमा सेवा सञ्चालन हुनेछ ।
उक्त अवधिमा सामाजिक सुरक्षा भत्ता नवीकरणसँगै व्यक्तिगत घटना दर्तासम्बन्धी सेवा समेत प्रदान गरिने वडा कार्यालयले जनाएको छ । वडा कार्यालयले काठमाडौंमा रहेका सम्बन्धित लाभग्राही तथा सेवाग्राहीलाई तोकिएको स्थानमा उपस्थित भई सेवा लिन आग्रह गरेको छ ।
साथै वडा कार्यालयका अनुसार सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न बाँकी लाभग्राहीले असोज १९ गतेभित्र वडा कार्यालयमा उपस्थित भई नवीकरण गर्न पनि अनुरोध गरेको हो ।


