रामेछापको खाँडादेवी गाउँपालिका–४ सुतार गाउँकी २३ वर्षीया युवतीको भटौली खोलाले बगाउँदा मृत्यु भएको छ। आईतबार बिहान करिब १० बजे स्थानीय भरत कार्कीकी छोरी ईन्दिरा कार्कीे घरछेउको जंगलमा डोको–नाम्लो बोकेर सालको पात टिप्न गएकी थिइन्।
सालको पात टिप्ने ठाउँ खोलावारी नै भए पनि खोलाको पारिपट्टि पसल रहेकाले युवती केही सामान किन्नका लागि खोलातर्फ गएको हुनसक्ने स्थानीयले आशंका गरेका छन्।
घटनापछि उनको डोको र नाम्लो भटौली खोलाभन्दा केही माथि जंगलमा भेटिएको थियो भने चप्पल खोलाको किनारमा फेला परेको थियो। चप्पल भेटिएको स्थानभन्दा करिब २ किलोमिटर तल भटौली खोलाले बगाएर किनारामा पु¥याएको अवस्थामा युवतीको शव फेला परेको खाँडादेवी गाउँपालिका–४ का वडाध्यक्ष कृष्ण पौडेलले जानकारी दिनुभयो।
युवती खोलामा कसरी बगिन् भन्ने विषयमा थप विवरण खुल्न बाँकी रहेको छ । मृतको युवतिको शव पोष्टमार्टमको लागि मन्थली अस्पताल लगिएको वडाअध्यक्ष पौडेलले बताउनुभयो ।


