रामेछापको गोकुलगंगा गाउँपालिकाले करसम्बन्धी सेवा गाउँपालिकाको कार्यालयबाटै उपलब्ध गराउने भएको छ। सेवाग्राहीले करसम्बन्धी सेवा लिन अन्यत्र धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यले गाउँपालिकाले पालिकाबाटै सेवा सञ्चालन गर्ने तयारी गरेको हो।
यसका लागि गाउँपालिका र आन्तरिक राजस्व कार्यालय धुलिखेलबीच बुधबार करसम्बन्धी सेवा सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतापत्रमा गोकुलगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराई र आन्तरिक राजस्व कार्यालय धुलिखेलका निमित्त प्रमुख कर अधिकृत लक्ष्मण ढुंगानाले हस्ताक्षर गरेका छन्।
गाउँपालिकाका अनुसार केही दिनभित्रै पालिकाबाट करसम्बन्धी सेवा सञ्चालनमा आउनेछ। सेवा सञ्चालनमा आएपछि व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) जारी गर्ने, मूल्य अभिवृद्धि कर (भ्याट) प्रमाणपत्र जारी गर्ने, कर चुक्ता प्रमाणपत्र उपलब्ध गराउने तथा अन्तःशुल्कसम्बन्धी सेवा स्थानीय तहमै प्राप्त गर्न सकिनेछ।
सरकारले करसम्बन्धी सेवा स्थानीय तहबाटै उपलब्ध गराउने उद्देश्यले जिल्ला सदरमुकाममा रहेका करदाता सेवा कार्यालयहरू खारेज गरेको थियो। कार्यालय खारेज भएपछि करसम्बन्धी केही सेवा कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) बाट समेत प्रदान हुँदै आएको छ।
गोकुलगंगामै करसम्बन्धी सेवा सञ्चालनमा आएपछि गाउँपालिकाका नागरिक तथा व्यवसायीलाई करसम्बन्धी कामका लागि अन्यत्र जानुपर्ने झन्झट र समय खर्च घट्ने अपेक्षा गरिएको छ।


