प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा ठगी आरोप, रामेछापका ३२ वर्षीय युवक पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा ठगी आरोप, रामेछापका ३२ वर्षीय युवक पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली कागजात तथा स्टेटमेन्ट तयार गरी सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको आरोपमा रामेछाप प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका–२, ठोसे निवासी ३२ वर्षीय भगवान कार्कीलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार गत भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले रु. १ लाख २० हजार सहयोग गरेको भन्दै कार्कीले ChatGPT को प्रयोग गरी नक्कली बैंक स्टेटमेन्ट तयार पारेका थिए।

उनले तयार पारेको नक्कली स्टेटमेन्टमा आफ्नो QR कोडसमेत राखी सामाजिक सञ्जालमा पोस्ट गरेको प्रहरीको भनाइ छ। उक्त कार्यमार्फत सर्वसाधारणलाई भ्रममा पारी रकम संकलन गर्ने उद्देश्य रहेको आशंकामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतका अनुसार कार्कीमाथि थप अनुसन्धान भइरहेको छ। पक्राउ परेका कार्की राष्ट्रिय स्वतन्त्र पार्टी गोकुलगंगा गाउँपालिकाका सह सचिव हुन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार