रामेछाप नगरपालिकाको वार्षिक समीक्षा कार्यक्रम

रामेछाप नगरपालिकाको वार्षिक समीक्षा कार्यक्रम

रामेछाप नगरपालिकाले गत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका विभिन्न कार्यक्रम तथा गतिविधिको समीक्षा गरेको छ। नगरपालिकाले सोमबार एक कार्यक्रम आयोजना गरी आर्थिक वर्षभरि सञ्चालन गरिएका योजना, कार्यक्रम तथा सेवा प्रवाहको समग्र समीक्षा गरेको हो।

कार्यक्रममा नगरपालिकाका विभिन्न शाखा तथा नगरपालिका अन्तर्गतका नौ वटै वडाले आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न गरेका कार्यक्रम तथा गतिविधिबारे छुट्टाछुट्टै प्रस्तुति दिएका थिए।

प्रस्तुतिका क्रममा शाखा तथा वडाबाट सञ्चालन गरिएका विकास निर्माण, सेवा प्रवाह, सामाजिक विकासलगायतका कार्यक्रमको प्रगति र उपलब्धिबारे जानकारी गराइएको थियो। जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्कीको प्रमुख आतिथ्यता तथा रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा नगरपालिकाले गत आर्थिक वर्षमा विशेषगरी पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरेको वरिष्ठ शाखा प्रमुख सुन्दर थापाले बताउनुभयो। उहाँका अनुसार नगरपालिकाले नागरिकको आवश्यकता र स्थानीय प्राथमिकताका आधारमा विभिन्न विकास तथा सेवा प्रवाहका कार्यक्रम अघि बढाएको थियो।

समीक्षा कार्यक्रममा शाखा तथा वडाबाट प्रस्तुत गरिएका प्रगति विवरणमाथि छलफल गर्दै आगामी दिनमा कार्यक्रम कार्यान्वयनलाई थप प्रभावकारी बनाउने, देखिएका समस्या तथा कमजोरी सुधार गर्ने र नागरिकलाई सहज तथा गुणस्तरीय सेवा उपलब्ध गराउने विषयमा समेत जोड दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार