रामेछापको लिखु तामाकोसी गाउँपालिकाले एक वर्षभरीमा ७३.७५ प्रतिशत बजेट खर्च गरेको छ । शुक्रबार गाउँपालिकाले गत आ.व. २०८२/८३ को तेस्रो चौमासिक अबधिमा सम्पादित आयोजना तथा कार्यक्रमहरुको सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत आय व्यय विवरण तथा विकास निर्माण र सेवा प्रवाह बारे जानकारी गराएको हो ।
गाउँपालिकाका योजना शाखा प्रमुख सन्तोष जिसिले प्रस्तुत गर्नुभएको प्रगति प्रतिबेदन अनुसार चालुतर्फ ४३ करोड २० लाख ७४ हजार ७ सय ७२ रुपैयाँ विनियोजित बजेट मध्ये ३५ करोड १८ लाख ६५ हजार ७ सय ६० रुपैया अर्थात् ८१.४४ प्रतिशत खर्च भएको छ ।
पूँजीगततर्फ २४ करोड ८६ लाख ३७ हजार ५ सय ६० रुपैयाँ बजेट विनियोजन भएकोमा १५ करोड २ लाख ११ हजार ६ सय ८५ रुपैयाँ अर्थात ६०.४१ प्रतिशत रकम खर्च भएको हो ।
चालू पुँजी दुबैगरी ६८ करोड ७ लाख १२ हजार ३ सय ३२ रुपैयाँ बजेट विनियोजन भएकोमा ५० करोड २० लाख ७७ हजार ४ सय ४६ अर्थात ७३.७५ प्रतिशत वित्तिय प्रगति हाँसिल भएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी नागरीकहरुले प्रश्न,जिज्ञासा सहित सुझाव सल्लाह दिएका थिए । नागरीकले शिक्षा,स्वास्थ्य,कृषि,सडक,पशुपालन र विकास निर्माणका कामहरुसँग सम्बन्धित प्रश्न गरेका थिए । नागरीकहरुले सोधेको प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष केशब महत,उपाध्यक्ष दिपा पाख्रीन लगायतले थिए ।
उक्त कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष युनिक बिफा घिसिङ सहित विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुले सुझाव सहितको मन्तव्य राख्दै पालिकाले गर्ने हरेक कामहरु निस्पक्ष र पार्दर्शी हुनुपर्ने बताएका थिए ।
सान नेपालले सहजीकरण गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा जनप्रतिनिधी,विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधी,विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधी, पत्रकार,पालिकाका कर्मचारी,विधार्थी र नागरीकहरुको उपस्थिती रहेको थियो ।


