रामेछापमा नेपाली सेनाले बाढी, पहिरो, आगलागीलगायतका विपद्बाट हुन सक्ने जोखिम न्यूनीकरण तथा विपद् प्रतिकार्यसम्बन्धी जनचेतना अभिवृद्धिका लागि एकदिने तालिम तथा नमुना प्रदर्शन गरेको छ।
रामेछापको रामेछाप नगरपालिका–८ स्थित माथिल्लो बजारमा नेपाली सेना श्री खड्गदल गण रामेछाप ब्यारेकको आयोजना तथा रामेछाप नगरपालिका–८ को समन्वय र सहकार्यमा ‘नागरिकसँग नेपाली सेना’ भन्ने मूल नाराका साथ तालिम सञ्चालन गरिएको हो।
खड्गदल गणका सहसेनानी चन्द्रबहादुर बुढाको कमाण्डमा खटिएको १४ जनाको टोलीले बाढी, पहिरो, आगलागीलगायत विभिन्न विपद्का समयमा अपनाउनुपर्ने प्रतिकार्यका नमुना प्रस्तुत गरेको थियो। टोलीले विपद्का समयमा स्थानीयस्तरमा उपलब्ध सामग्रीको प्रयोग गर्ने तरिका, उद्धार तथा प्रतिकार्यका आधारभूत विधि र आवश्यक सावधानीका विषयमा स्थानीयवासीलाई जानकारी गराएको थियो।
तालिमका क्रममा विपद्का बेला तत्काल अपनाउनुपर्ने उपाय तथा उपलब्ध स्थानीय स्रोतसाधनको प्रयोगबाट गर्न सकिने प्राथमिक प्रतिकार्यका विधिहरूसमेत प्रयोगात्मक रूपमा सिकाइएको थियो।
नेपाली सेनाले चालु आर्थिक वर्षमा जिल्लाका करिब १५ हजार स्थानीयवासीलाई प्रत्येक महिनाको १५ गते यस्ता विपद् प्रतिकार्यसम्बन्धी तालिम तथा सचेतना प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।
माथिल्लो बजारमा आयोजित पहिलो चरणको कार्यक्रममा करिब ६० देखि ७० जना स्थानीयवासीको सहभागिता रहेको थियो। स्थानीयस्तरमै विपद्को समयमा प्रारम्भिक प्रतिकार्य गर्न सक्ने क्षमता विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिम प्रभावकारी भएको सहभागीहरूले बताएका छन्।
विपद्का घटना बढ्दै गइरहेको अवस्थामा समुदायस्तरमै विपद् प्रतिकार्यसम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।


