रामेछाप अस्पतालमा पहिलो पटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा

रामेछाप अस्पतालमा पहिलो पटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा

रामेछाप अस्पतालले पहिलो पटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ। गुणस्तरीय, पहुँचयोग्य तथा विशेषज्ञ स्वास्थ्य सेवा स्थानीयस्तरमै उपलब्ध गराउने उद्देश्यले अस्पतालले मानसिक रोग विशेषज्ञको नियमित सेवा सुरु गरेको हो।

अस्पतालका अनुसार वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. विजया सत्यालबाट अस्पतालमा मानसिक स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिनेछ। डा. सत्यालले एमडी मनोचिकित्सा अध्ययन गर्नुभएको छ र उहाँबाट विभिन्न मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका सेवाग्राहीले परामर्श तथा उपचार सेवा लिन सक्नेछन्।

अस्पतालले उपलब्ध गराएको विवरणअनुसार डिप्रेसन (उदासीनता), चिन्ता तथा तनाव, निद्रासम्बन्धी समस्या, प्यानिक अट्याक तथा ओसीडी, बाइपोलार डिसअर्डर, स्किजोफ्रेनियालगायतका मानसिक स्वास्थ्य समस्या, बाल तथा किशोर मानसिक स्वास्थ्य, वृद्धावस्थाका मानसिक स्वास्थ्य समस्या तथा मदिरा र लागू पदार्थ दुव्र्यसनसम्बन्धी उपचार सेवा उपलब्ध हुनेछ।

त्यस्तै, मनोपरामर्श, मनोचिकित्सा तथा आवश्यकताअनुसार औषधि उपचारसमेत प्रदान गरिने अस्पतालले जनाएको छ।अस्पतालका अनुसार मानसिक स्वास्थ्यसम्बन्धी समस्या कमजोरी नभई अन्य स्वास्थ्य समस्याजस्तै समयमै पहिचान, परामर्श र उपचार आवश्यक पर्ने अवस्था हो। समयमै विशेषज्ञसँग परामर्श लिन सके मानसिक स्वास्थ्यमा सुधार ल्याउँदै व्यक्तिको जीवनस्तरसमेत सहज बनाउन सकिने अस्पतालको भनाइ छ।अस्पतालमा सञ्चालन भएको नयाँ सेवाबाट मानसिक स्वास्थ्य उपचारका लागि काठमाडौं तथा अन्य ठूला सहर जानुपर्ने स्थानीयवासीको बाध्यता कम हुने अपेक्षा गरिएको छ।

रामेछाप अस्पतालमा मानसिक स्वास्थ्य विशेषज्ञ सेवा प्रत्येक दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने जनाइएको छ।सेवा अस्पतालको मानसिक स्वास्थ्य कक्षबाट उपलब्ध हुनेछ। विशेषज्ञसँग परामर्श तथा अपोइन्टमेन्टका लागि ९७६५२०३३८४८ मा सम्पर्क गर्न सकिने अस्पतालले जनाएको छ। अस्पतालले मानसिक स्वास्थ्यसम्बन्धी समस्या लुकाएर राख्नुभन्दा समयमै विशेषज्ञसँग परामर्श लिन सेवाग्राहीलाई आग्रह गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार