रामेछाप बजारमा डेंगी सचेतना तथा ‘लार्भा खोज र नष्ट गर’ अभियान

रामेछाप बजारमा डेंगी सचेतना तथा ‘लार्भा खोज र नष्ट गर’ अभियान

श्रावण महिनालाई ‘डेंगी सचेतना महिना’का रूपमा मनाउने अभियानअन्तर्गत रामेछाप बजार क्षेत्रमा डेंगी रोगसम्बन्धी सचेतना तथा ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ।

अभियानका क्रममा बजार तथा आसपासका क्षेत्रमा डेंगी फैलाउने एडिज जातको लामखुट्टेको सम्भावित बासस्थान पहिचान गरी पानी जम्ने स्थानको खोजी तथा सरसफाइ गरिएको थियो। साथै, स्थानीयवासीलाई घर, कार्यालय तथा समुदायमा पानी जम्न नदिने, लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने र डेंगीबाट बच्न आवश्यक सावधानी अपनाउने विषयमा सचेत गराइएको थियो।

डेंगी नियन्त्रणका लागि सरकारी निकायको मात्र प्रयास पर्याप्त नहुने भन्दै अभियानमा सहभागीहरूले घर–घरबाटै लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्नुपर्नेमा जोड दिएका छन्। विशेषगरी गमला, टायर, ड्रम, बाल्टिन, बोतललगायतका भाँडामा लामो समयसम्म पानी जम्न नदिन आग्रह गरिएको छ।
अभियानमा विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाको उत्साहजनक सहभागिताले डेंगी नियन्त्रणका लागि सामूहिक प्रतिबद्धता आवश्यक रहेको सन्देश दिएको रामेछाप नगरपालिकाले जनाएको छ ।

रामेछापमा वर्षायामसँगै डेंगीको जोखिम बढ्न सक्ने भएकाले सचेतना अभियानलाई निरन्तरता दिँदै घर, टोल तथा समुदायमा पानी जम्ने सम्भावित स्थानको नियमित निरीक्षण र सरसफाइ गर्न आग्रह गरिएको छ।

डेंगी नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता महत्वपूर्ण हुने भएकाले ‘लार्भा खोजौँ, नष्ट गरौँ, डेंगीबाट बचौँ’भन्ने अभियानलाई व्यवहारमै कार्यान्वयन गर्न सरोकारवालाले सबैमा अपिल गरेका छन्।

डेंगी रोगको जोखिम न्यूनीकरण तथा लामखुट्टेको बासस्थान नष्ट गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानमा रामेछाप नगरपालिकाका नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, नेपाली सेना, नेपाल प्रहरी, नगरपालिकाका कर्मचारी, रामेछाप अस्पतालका कर्मचारी, जनस्वास्थ्य कार्यालय रामेछापका कर्मचारी, विभिन्न स्थानीय संघ–संस्था तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार