पार्टी कार्यालय उद्घाटनसँगै ’मिसन पार्टी जागरण’ अभियान सुरु गर्दै एमाले रामेछाप

पार्टी कार्यालय उद्घाटनसँगै ’मिसन पार्टी जागरण’ अभियान सुरु गर्दै एमाले रामेछाप

नेकपा (एमाले) रामेछापले नवनिर्मित जिल्ला पार्टी कार्यालय ’मदन–आश्रित स्मृति भवन’ को उद्घाटन शुक्रवार गर्ने भएको छ। मन्थली नगरपालिका–१ आकाशे स्थित भवनको उद्घाटन पार्टीका महासचिव शंकर पोखरेलले साउन २२ गते शुक्रवार बिहान ११ बजे गर्ने कार्यक्रम तय भएको छ।

एमाले रामेछाप जिल्ला कमिटी सचिवालयको दोस्रो बैठकले उक्त निर्णय गरेको हो। जिल्ला अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षतामा बुधवार नयाँ कार्यालय भवनमा बसेको बैठकमा पार्टी केन्द्रीय कमिटी सदस्य तथा जिल्ला इन्चार्ज माधवप्रसाद ढुंगेल प्रमुख अतिथि रहेका थिए। बैठकमा प्रदेश कमिटी सदस्यहरूको समेत उपस्थिति रहेको पार्टीले जनाएको छ।

बैठकले कार्यालय उद्घाटनसँगै ‘मिसन पार्टी जागरण अभियान–२०८३’ लाई औपचारिक रूपमा अघि बढाउने निर्णय गरेको छ। उद्घाटन कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक, सञ्चारकर्मी, विभिन्न पेसा–व्यवसायमा आबद्ध व्यक्तित्व, सहयोगी तथा सर्वसाधारणलाई सहभागी हुन आह्वान गरिएको प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठले बताए ।

उनका अनुसार बैठकले पार्टीको संगठित सदस्यता नवीकरण तथा अभिलेखीकरणको काम भइरहेको जनाउँदै त्यसलाई जिल्ला कमिटी बैठकमा निर्णयार्थ पेस गर्ने निर्णय पनि गरेको छ। त्यसै गरी, ‘मिसन पार्टी जागरण अभियान–२०८३’ लाई जिल्ला, पालिका, वडा र टोल तहसम्म प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय गरिएको छ।

अभियानमार्फत जनतासँग प्रत्यक्ष सम्पर्क बढाउने, जनताका दुःख–सुखमा सहभागी हुने, जनमुखी कार्यक्रम सञ्चालन गर्ने तथा पार्टी संगठनलाई थप सुदृढ, गतिशील र चुस्त बनाउने लक्ष्य लिइएको एमाले रामेछापले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार