पहिरोले अवरुद्ध सडक खुलाउन प्रहरीको सक्रियता

पहिरोले अवरुद्ध सडक खुलाउन प्रहरीको सक्रियता

जिल्ला प्रहरी कार्यालय रामेछापले पहिरोका कारण अवरुद्ध बनेको सडक तत्काल खुलाउँदै सवारी आवागमनलाई पुनः सहज बनाएको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार खाँडादेवी गाउँपालिका–६ अन्तर्गत मन्थली–गाल्पा सडक खण्डमा माथिबाट पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरोसँगै ढुंगा र रुख सडकमा खसेपछि सवारी साधनको आवागमन प्रभावित बनेको थियो।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो। प्रहरीले सडकमा खसेका ढुंगा, रुख तथा अन्य अवरोध हटाएर सडक सञ्चालनमा ल्याएको हो। प्रहरीको सक्रियतापछि उक्त सडकखण्डमा सवारी साधनको आवागमन पुनः सुचारु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतका अनुसार वर्षायाममा पहिरोको जोखिम उच्च रहेकाले सडक प्रयोग गर्दा आवश्यक सतर्कता अपनाउन सबै सवारी चालक तथा यात्रुलाई आग्रह गरिएको छ। साथै, विपद्जन्य घटनामा तत्काल उद्धार तथा सडक सञ्चालनलाई सहज बनाउन प्रहरी निरन्तर सक्रिय रहेको उहाँले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार