रामेछाप प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ (बालुवा) ओसारपसार गरिरहेका तीन वटा सवारीसाधनलाई नियन्त्रणमा लिई जरिवाना गरेको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार बुधबार बिहान करिब ५ बजे मन्थली नगरपालिका–१ स्थित तामाकोशी नदी किनारमा अवैध रूपमा बालुवा लोड भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले चालकसहित तीन वटा सवारीसाधन नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि मन्थली नगरपालिकामा बुझाएको जनाएको छ।
नगरपालिकाले गरेको कारबाहीअनुसार खाँडादेवी गाउँपालिका–४ का ३१ वर्षीय रामचन्द्र कार्कीले चलाएको बा.५ ख ५७७९ नम्बरको मिनिट्रकलाई रु. २२ हजार ५००, मन्थली नगरपालिका–६ हातिटारका ३४ वर्षीय अर्जुन माझीले चलाएको बा.२ ख १२८८ नम्बरको ट्रिपरलाई रु. ३० हजार तथा मन्थली नगरपालिका–६ का ३० वर्षीय मनिष माझीले चलाएको मधेश प्रदेश ००३ त १५८५ नम्बरको ट्र्याक्टरलाई रु. २६ हजार जरिवाना गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसार नियन्त्रणका लागि निगरानीलाई थप प्रभावकारी बनाइएको छ। यस्ता गतिविधिमा संलग्न हुने जो–कोहीलाई कानुनअनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।



