सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आफ्नो नयाँ प्रशासकीय भवनमा पूजा–पाठसहित भवन प्रवेश (गृहप्रवेश) कार्यक्रम सम्पन्न गरेको छ। बुधबार आयोजित धार्मिक विधिअनुसारको कार्यक्रममा जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको थियो।
गाउँपालिकाले नयाँ भवनबाट साउन १ गतेदेखि औपचारिक रूपमा सम्पूर्ण प्रशासनिक सेवा प्रवाह सुरु गर्ने जनाएको छ। यससँगै हालसम्म घर भाडामा लिएर कार्यालय सञ्चालन हुँदै आएकोमा अब सबै सेवा नयाँ प्रशासकीय भवनबाट प्रदान गरिनेछन्।
गाउँपालिका अध्यक्ष शंकराज बरालले नयाँ भवन सञ्चालनमा आएसँगै सेवाग्राहीलाई थप व्यवस्थित, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयोे।
उहाँले आधुनिक पूर्वाधारसहितको भवनले कर्मचारीका लागि उपयुक्त कार्य वातावरण सिर्जना गर्नुका साथै सेवा प्रवाहलाई थप छिटो, पारदर्शी र गुणस्तरीय बनाउन सहयोग पुग्ने बताउनुभयो ।
नयाँ प्रशासकीय भवन सञ्चालनमा आएपछि सेवाग्राहीले एउटै परिसरबाट आवश्यक अधिकांश प्रशासनिक सेवा प्राप्त गर्न सक्ने गाउँपालिकाको अपेक्षा रहेको छ। गाउँपालिकाले नयाँ भवनबाट सेवा शुभारम्भसँगै नागरिकमैत्री र प्रविधिमैत्री सेवा विस्तारमा समेत जोड दिने जनाएको छ।


