एक वर्षमा रामेछाप नगरपालिकाको वित्तिय प्रगति ६८.७ प्रतिशत

एक वर्षमा रामेछाप नगरपालिकाको वित्तिय प्रगति ६८.७ प्रतिशत

रामेछापको रामेछाप नगरपालिकाले एक वर्षभरीमा ६८.७ प्रतिशत बजेट खर्च गरेको छ । आईतबार नगरपालिकाले चालू आ.व. २०८२/८३ को तेस्रो चौमासिक अबधिमा सम्पादित आयोजना तथा कार्यक्रमहरुको सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत आय व्यय विवरण तथा विकास निर्माण र सेवा प्रवाह बारे जानकारी गराएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रस्तुत प्रगती प्रतिवेदन अनुसार चालू खर्च तर्फ ५१ करोड ६३ लाख ४५ हजार ७ सय ७४ रुपैयाँ अनुमानित बजेट रहेकोमा ४३ करोड ५५ लाख ८७ हजार ८७ रुपैयाँ अर्थात ८४.३६ प्रतिशत खर्च भएको छ ।

यसैगरी पुँजिगत खर्च तर्फ ३३ करोड ७३ लाख ४२ हजार ९७ पैसा अनुमानित बजेट रहेकोमा १५ करोड ९ लाख २३ हजार ६ सय ४५ रुपैयाँ खर्च भएको छ । चालू पुँजी दुबैगरी कुल ८५ करोड ३६ लाख ८७ हजार ८ सय ७१ रुपैयाँ अनुमानित बजेट रहेकोमा ५८ करोड ६५ लाख १० हजार ७ सय ३२ रुपैयाँ अर्थात ६८.७ प्रतिशत बजेट खर्च भएको हो । यहि अवधिमा नगरपालिका तथा वडाहरुबाट १ करोड ८ लाख ८ हजार ८४ रुपैयाँ राजश्व संकलन भएको हो ।

स्थानिय सरकार संचालनमा आएदेखी हालसम्म रामेछाप नगरपालिकाले २० वटा ऐन,६ वटा नियमावली,५७ वटा कार्यविधि र ५ वटा निर्देशिका गरी ८८ वटा कानूनहरु बनाएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी नागरीकहरुले प्रश्न,जिज्ञासा सहित सुझाव सल्लाह दिएका थिए । नागरीकले शिक्षा,स्वास्थ्य,कृषि,सडक,पशुपालन र विकास निर्माणका कामहरुसँग सम्बन्धित प्रश्न गरेका थिए । नागरीकहरुले सोधेको प्रश्नको जवाफ नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,प्रमुख प्रशासकिय अधिकृत ंगंगाला सुवेदी र सम्बन्धित शाखाका प्रमुखहरुले दिएका थिए ।

उक्त कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष दिपक घिमिरे,नेकपा नेता नरेन्द्र तामाङ,नेकपा एमालेका नेता देव बहादुर श्रेष्ठ,नेपाली कांग्रेसका नेता कमल विक्रम कार्की र रास्वपाका नेता अम्बिका तामाङले नगरपालिकालाई विभिन्न सुझाव सहितको मन्तव्य राख्नुभयो । उहाँहरुले नगरले गर्ने हरेक कामहरु निस्पक्ष र पार्दर्शी हुनुपर्ने बताउनुभयो ।

हजुरको रेडियोले सहजीकरण गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा रामेछाप नगरपालिका जनप्रतिनिधी,विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधी,विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधी, पत्रकार,नगरपालिकाका कर्मचारी र नागरीकहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार